अनुदान दिएर उद्यम प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका

शुक्रबार, २९ चैत्र २०८१
इलाम : कतारमा १४ वर्ष ‘एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर स्वदेश फर्किनुभएका सूर्योदय नगरपालिका–४ श्रीअन्तुका डिल्लीराम मुखियालाई गाउँमै उद्यम गर्न रहर थियो । फेरि विदेश जाने मन थिएन । विदेशमा कमाएको पैसा जग्गा जोड्दा, बिहे गर्दा, बच्चा पढाउँदा र घर खर्च टार्दा सकियो । गाउँमै सानोतिनो व्यवसाय गर्न मन भए पनि लगानी नहुँदा उहाँ दोधारमा हुनुहुन्थ्यो । “गत साल सूर्योदय नगरपालिकाले रेमी कार्यक्रममार्फत कुखुरा पाल्न अनुदान दियो”, पौरखी मुखियाले भन्नुभयो, “नगरपालिकाले सात दिनको उद्यमशीलता तालिमसँगै कुखुरा पालन गर्न ४० हजार अनुदान पनि दिएपछि स्थानीय जातका कुखुरा पाल्न थालेँ । अब विदेश जान्न” डेढ लाख लगानीमा व्यवस्थित खोर बनाएर ६०० वटा चल्ला पाल्नुभएका उहाँले कुखुरा बेचेर मनग्गे आम्दानी गरिरहनुभएको छ । उहाँ मात्र होइन उक्त वडाका इन्द्रजित मुखिया, सपना सुवेदी, राजेन्द्र गिरी, विराज तामाङले नगरपालिकाको अनुदानबाट कुखुरा पालन गरिरहनु भएको छ । साढे तीन वर्ष साउदी अरब बस्नुभएकी सपना सुवेदीलाई त्यहाँको दुःख सम्झँदा आङ सिरिङ्ग हुन्छ । बाख्रा र कुखुरापालन सँगै चिया खेतीमा व्यस्त उहाँ पनि विदेश नजाने अठोटका साथ कृषि कर्ममा रमाउनुभएको छ । नगरपालिकाबाट उहाँले रु एक लाख अनुदान लिनुभएको हो । “गाउँमा केही गर्छु भन्ने सबैसँग लगानी गर्ने रकम हुँदैन । रेमीले बिना ब्याजमा पैसा दिएपछि बाख्रा, कुखुरा पाल्न सजिलो भएको छ । तीन वर्षमा साँवा फर्काउने मात्र हो । ब्याज लाग्दैन”, कुखुरालाई दाना दिँदै उहाँले भन्नुभयो । गत वर्ष नगरपालिकाले स्वरोजगार कार्यविधि बनाएर उद्यम गर्न चाहनेलाई अनुदानको व्यवस्था गरेको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो । व्यक्तिगत रूपमा रु एक लाखसम्म र समूह वा सहकारीमा आबद्ध भएमा रु पाँचदेखि दश लाखसम्म बिना ब्याज ऋण दिइने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार