दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौं लगियो

शुक्रबार, २९ चैत्र २०८१
विराटनगर । दुर्गा प्रसाईंलाई झापाको भद्रपुर विमानस्थलबाट काठमाडौंतर्फ लगिएको छ । बुद्ध एयरको जहाजमार्फत काठमाडौं पठाइएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । राजावादी आन्दोलनका कमाण्डर प्रसाईं काठमाडौंको हिंसात्मक प्रदर्शनपछि भारततिर भागेका थिए । उनी भारतको आसामबाट बिहीबार पक्राउ परेका हुन् । भारतबाट पक्राउ परेका उनलाई काँकडभिट्टा नाका हुँदै शुक्रबार बिहान झापा ल्याइएको थियो । केहीबेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखियो । त्यसपछि भद्रपुर विमानस्थलबाट बुद्द एयरको जहाजमार्फत काठमाडौं पठाइएको डीएसपी खड्काले बताए । राजसंस्था पुनर्स्थापनाका लागि भन्दै संयुक्त जनआन्दोलन परिचालन समितिले तीनकुनेमा चैत १५ गते गरेको प्रदर्शन हिंसात्मक बन्दा १ जना पत्रकारसहित २ जनाको मृत्यु भएको थियो । अराजक बनेका प्रदर्शनकारीले निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड एवं आगजनी गरेका थिए । प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीलाई नै पेलेर गाडी चलाउँदै अघि बढेका प्रसाईं एकाएक सम्पर्कविहीन बने । आसामबाट पक्राउ गरेर नेपाल ल्याइएका प्रसाईंलाई काठमाडौं लगेर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रवलगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरीको तयारी छ । प्रसाईंसँगै उनका अंगरक्षक ९बडीगार्ड० दीपक खड्का पनि पक्राउ परेका छन् । खड्कालाई समेत सोही जहाजमा राखेर काठमाडौं लगिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार