विराटनगर । मोरङ, झापा र सुनसरी जिल्लाबाट विभिन्न प्रकारका लागुऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
चैत २९ गते मोरङको रतुवामाई नगरपालिका–१ स्थितमा इलाका प्रहरी कार्यालय सिजुवाले चेकजाँचको क्रममा को.१५ प १९६ नम्बरको मोटरसाइकलमा सवार उर्लाबारी–३ का ३५ वर्षीय किरण राई र काजीमान लिम्बुलाई ३ ग्राम ८८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। त्यस्तै इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका–१ का ५१ वर्षीय कुमार लिम्बुलाई उनको घरबाटै १ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
मोरङकै जहदा गाउँपालिका–१ स्थित बाटोको छेउमा बेवारिसे अवस्थामा रहेको १४ किलोग्राम गाँजा समेत बुधबारे प्रहरीले बरामद गरेको छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–३ बाट अस्थायी प्रहरी चौकी बाङ्गेको टोलीले बा.४४ प ७७४९ नम्बरको मोटरसाइकलमा सवार धरान–८ का २४ वर्षीय दीपेश लिम्बु र धरान–१९ का सुमन राईलाई ट्रमाटोल ५७० क्याप्सुल र स्पास्पेन १,४७० ट्याब्लेटसहित नियन्त्रणमा लिएको छ।
यस्तै झापाको बिर्तामोड नगरपालिका–५ स्थितबाट इलाका प्रहरी कार्यालय अनारमनीले भारतको बेङ्लोरकी ३७ वर्षीया सनम सेख र ५१ वर्षीय इबराहिम केथाड्थलाई ५ किलो ५३४ ग्राम गाँजासहित पक्राउ गरेको छ।
पक्राउ परेका सबैमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया