जिब्रो छेड्ने जात्राको पूर्व तयारीः हात नभएको लिंगो उठाइयो

आइतबार, ३१ चैत्र २०८१
काठमाडौं : भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको अवसरमा आज बिहान ११ बजे भक्तपुरको पोटरीस्क्वायरस्थित कुमाले टोलमा हात नभएको लिंगो उठाइएको छ । प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीय भक्तपुरको कुमाले टोलमा बिहानै उठाइने हात नभएको लिंगो आज विधिपूर्वक पूजा गरी उठाइएको हो । बिस्केटजात्राको अवसरमा हरेक वर्ष चैत मसान्तको दिन उठाइएको हात नभएको लिंगो जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढाल्ने गरिन्छ । कुमाले टोलमा बिहान लिंगो उठाएपछि दिउँसो भैरव र भद्रकालीको पूजा गरी रथलाई साँझ भेलुखेलमा हातसहितको नाग–नागिनीको प्रतीक रहेको तान्त्रिक विधिद्वारा तयार पारिएको इन्द्रध्वजासहितको ५५ हात लामो लिंगो उठाउने गरिन्छ । यसलाई विश्वप्रसिद्ध लिंगो जात्रा भन्ने गरिन्छ । यो लिंगो भने वैशाख १ गते दिनभर जात्रा गरेर साँझ विधिपूर्वक ढाल्ने गरिन्छ । यता मध्यपुरथिमि–८ बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि पनि आज बिहान लिंगो उठाइएको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको उपस्थितिमा जनप्रतिनिधिहरू समेतको सहभागितामा स्थानीयले महालक्ष्मी मन्दिर अगाडि लिंगो उठाएका हुन् । तान्त्रिकविधि पूरा गरी बिहान स्थानीयले लिंगो उठाएपछि थिमि क्षेत्रको जात्रा एवं पर्वको विधिवतरूपमा सुरु हुने, मठमन्दिरमा मेला लाग्ने र भोज सुरु हुने परम्परा रहेको स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिए । “महालक्ष्मी मन्दिर अगाडि लिंगो उठाएर जिब्रो छेड्ने जात्राको साइत गरिएको छ । यस मन्दिर अगाडि लिंगो उठाएपछि जिब्रो छेड्ने जात्रा पनि सुरु भएको मानिन्छ”, उनले भने । यहाँ आज नै कुमारीको रथ लहीटोलमा पुर्याइन्छ भने राति करिब ९ बजे निलबारही जंगलबाट ल्याएको दाउरा बालेर पूजा गरेपछि २८ वर्षीय सुजन वांग श्रेष्ठले व्रत प्रारम्भ गरी वैशाख २ गते जिब्रो छाड्नेछन् । आज व्रत सुरु भएपछि जिब्रो छेड्ने व्यक्तिले केही खान नहुने, महिलासँग बोल्न तथा छुन नहुने, कुकुर, कुखुरा, बिरालोलगायतका पशुपक्षीलाई छुन नहुने चलन छ । मध्यपुरथिमिमा बिस्केट जात्राको अवसरमा सिन्दुरजात्रा विष्णुवीर जात्रा, रात्रिको चान्हेसिया जात्रा, सिद्धिकाली जात्रालगायतका जात्रा एवं पर्व स्थानीयले भव्यरूपमा मनाउने गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार