पाँचथर : पाँचथर जिल्ला अदालतले अब भर्चुअल माध्यममार्फत मुद्दाका बयान, साक्षी बकपत्र र बहस पैरवी गर्ने कार्यलाई नियमित रूपमा अगाडि बढाउन थालेको छ।
अदालतका अनुसार, भौतिक रूपमा उपस्थित हुन नसक्ने मुद्दाका पक्ष, साक्षी र सेवाग्राहीलाई लक्षित गर्दै यस्तो व्यवस्था लागू गरिएको हो।
सूचना अधिकारी गोपाल खनालका अनुसार, भर्चुअल माध्यमको प्रयोगले न्यायिक प्रक्रिया सरल, सुलभ र सबैका लागि पहुँचयोग्य भएको छ। देश तथा विदेशमा रहेका वादी, प्रतिवादी, साक्षी तथा कानुनी व्यवसायीसँग संवाद गर्न र मेलमिलापको छलफल गर्न अब भिडियो कन्फ्रेन्स प्रविधिको नियमित प्रयोग हुँदै आएको छ।
"सूचना प्रविधिको प्रयोगले सेवाग्राहीको समय र खर्च बचाउनुका साथै मुद्दा छिटो किनारा लगाउन सहयोग पुगेको छ," खनालले बताए।
भर्चुअल माध्यमले भौतिक दूरीमा रहेका पक्षलाई पनि सजिलै न्यायमा पहुँच पुर्याउने उनको भनाइ छ।
पछिल्लो समय अदालतले पोर्चुगल, दुबई, कतार र ओमानमा रहेका बहुविवाह पीडित तीन महिलाको बकपत्र भर्चुअल माध्यमबाट लिएको थियो। उनीहरू वैदेशिक रोजगारीमा हुँदा घरमा श्रीमानहरूले दोस्रो विवाह गरेपछि परेको मुद्दामा अदालतले भिडियो कन्फ्रेन्समार्फत बयान लिएको हो।
त्यस्तै, कानुनी विवादमा परेका बालक प्रतिवादी रहेको मुद्दामा विराटनगरको बाल सुधार गृहमा रहेका दुई जनालाई भर्चुअल माध्यमबाट जोडेर चिकित्सकको बकपत्र लिइएको थियो। साथै, कर्तव्य ज्यान मुद्दामा दुई प्रत्यक्षदर्शीको पनि यही माध्यमबाट बकपत्र गराइएको सूचना प्रविधि प्रमुख पिताम खतिवडाले जानकारी दिए।
अंश चलनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता खगराज कट्टेलले इलामबाटै भर्चुअल माध्यममार्फत बहस गरेका थिए। यसले न्यायिक प्रक्रियामा संलग्न सबै पक्षले सुनुवाइ हेर्न र सुन्न पाउने वातावरण मिलाएको छ।
खतिवडाका अनुसार, भर्चुअल माध्यम प्रयोग गर्नु अघि सम्बन्धित व्यक्तिलाई आवश्यक प्रविधि तालिम दिइने र प्रयोगमा सहजता भएपछि मात्र प्रक्रिया अघि बढाइने व्यवस्था गरिएको छ।
हालसम्म जिल्लास्तरमा यस्तो अभ्यास विरलै भए पनि पाँचथर जिल्ला अदालतले न्यायाधीश कुमार मास्केको पहलमा यो अभ्यास थालनी गरेको हो। कोशी प्रदेशमै भर्चुअल माध्यमबाट न्यायिक प्रक्रिया नियमित गर्ने सम्भवतः पाँचथर पहिलो अदालत हो। सेवाग्राहीहरूले यसरी सूचना प्रविधिको प्रयोगले न्याय पाउने प्रक्रिया छिटो र सजिलो भएको अनुभव गरेका छन्।
प्रतिक्रिया