काठमाडौँ : नेपाल टेलिकममा एकातिर ३३ करोडभन्दा बढीको भ्रष्टाचारको मुद्दा चलिरहेको छ भने अर्कोतर्फ सोही मुद्दासँग सम्बन्धित एक व्यक्तिको श्रीमतीलाई टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्त गरिएको घटनाले सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ।
नेपाल टेलिकमका तत्कालीन निमित्त प्रबन्ध निर्देशक अमूल प्रधानविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि सरकारद्वारा उनकी श्रीमती सविना मास्केलाई टेलिकमको निमित्त प्रमुख बनाइएको छ।
सविना प्रधान (मास्के)यसअघि टेलिकममा प्रमुख प्राविधिक अधिकृतको हैसियतले कार्यरत थिइन् र उनले यसै मुद्दामा अख्तियारमा बयान समेत दिएकी थिइन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमको नयाँ बिलिङ प्रणाली खरिदमा व्यापक अनियमितता भएको भन्दै प्रमुख अभियुक्त सङ्गीता पहाडीसहित १७ व्यक्ति र एक कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सो मुद्दामा सविना प्रधानका श्रीमान् अमूल प्रधान पनि संलग्न रहेकाले उनलाई सेवा स्थगन गरिएको छ। अब उनको श्रीमती सविनालाई नै नेतृत्व दिइनु संयोग मात्र नभएर नियोजित कदमको आशङ्का गरिएको छ।
आयोगको दाबीअनुसार टेलिकमलाई ३३ करोड ४८ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति पुगेको छ। मुद्दा दायर भएकामध्ये १४ जनासँग ९ करोड ८८ लाख रुपैयाँ असुल उपरसहित १० देखि १४ वर्षसम्म कैद सजायको माग गरिएको छ।
यस घटनाले सरकारको नियुक्ति प्रक्रिया, हितको टकराब (conflict of interest) र सुशासनको नीतिमाथि गम्भीर प्रश्न खडा गरेको छ।
विशेष गरी अख्तियारले आफैँ भ्रष्टाचार विरोधी अभियानमा आक्रामक देखिएको वर्तमान समयमा सरकारद्वारा स्वार्थ बाझिने व्यक्तिलाई महत्त्वपूर्ण जिम्मेवारी दिनु आपत्तिजनक देखिएको छ।
प्रतिक्रिया