विराटनगरको एउटै मोबाइल पसलमा तेस्रोपटक चोरी, प्रहरीले सहयोग नगरेको गुनासो

शनिबार, ३० चैत्र २०८१
विराटनगर : विराटनगरको एउटा मोबाइल पसलमा तेस्रोपटक चोरी भएको छ । बारम्बार चोरी भइरहेको पसलमा शुक्रबार राति पनि पुनः चोरी भएको हो । विराटनगर महानगरपालिका–९ महेन्द्र चोकमा रहेको सनराइज इन्टरप्राइजेज नामक मोबाइल पसलमा चोरी भएको हो । उक्त पसलमा यसअघि २ पटक चोरी भइसकेको छ । एउटै पसललाई लक्षित गरेर बारम्बार चोरी भइरहे पनि प्रहरीले घटनामा संलग्नको पहिचान गर्न सकिरहेको छैन । पसलका सञ्चालक मधु राईले सामाजिक सञ्जालमा आफ्नो पसल चोरी भएको र प्रहरी प्रशासनबाट कुनै सहयोग नपाएको गुनासो पोखेका छन् । यसअघिको घटनामा सहयोग नपाएकै कारण पछिल्लो चोरीको जानकारी प्रहरी प्रशासनलाई नदिएको उनले बताए । राईको मोबाइल पुसल महेन्द्र चोकको पूर्वतर्फ छ । प्रत्येक दिन राति ८ः३० बजेतिर पसल बन्द गरेर घर जाने गरेको बताउँदै, राईले भने, ‘शुक्रबार राति पनि सोही समयमा बन्द गरेर गएको थिएँ । तर, बिहान ९ बजेतिर पसल खोल्न आउँदा पसलभित्र सामान छरपस्ट थियो । पसलको माथिपट्टि रहेको सानो ‘भेन्टिलेसन’ फुटाएर चोर भित्र छिरेको पसेको रहेछ । यसबाहेक अन्यत्र ठाउँ नै छैन पसलभित्र पस्नका लागि । त्यही ‘भेन्टिलेसन’ भत्काएर पसेको चोरले सामान चोरेपछि त्यहीँबाट बाहिर निस्किेको हुनुपर्छ ।’ विगतजस्तो धेरै मूल्यको सामान यसपटक चोरी नभएको उनले बताए । शुक्रबार राति चोरले करिब २०–२५ हजार जतिको मोबाइल चोरी गरेर लगेको उनको भनाइ छ । थोरै मूल्यको सामान चोरी भयो भन्दा पनि चोर पल्कियो भन्ने चिन्ता लागेको बताउँदै राईले भने, ‘मेरो पसलमा अहिलेसम्म तेस्रोपटक चोरी भइसकेको छ । २०७७, २०७८ र अहिले २०८१ गरेर ३ पटक चोरी भइसक्यो । यसअघि २ पटक चोरी हुँदा लाखौं रुपैयाँको विभिन्न ब्राण्डका मोबाइल, ट्याब, स्मार्ट घडी चोरी भएको थियो । त्यसपछि मैले महँगा मोबाइल पसलमा राख्न छाडे । घर जाँदा सुरक्षित ठाउँमा राख्ने गरेको छु । यसपटक सास्तो मोबाइल र घडी चोरी भएको छ ।’ राईका अनुसार यसअघि चोरीका मोबाइल फेला परेनन् । चोर पनि प्रहरीले पत्ता लगाएन । मोबाइल पसलबाट यसअघि २ पटक लाखौं रुपैयाँ बराबरको नयाँ र पुरानो मोबायल चोरी भएको र हालसम्म पनि चोरी गर्ने समूह प्रहरीले पत्ता लगाउन नसकेको पीडा उनले सुनाए । उनले राम्रोसँग अनुसन्धान गर्ने भएको भए यसअघि २ पटक पसल चोरी गर्नेलाई किन प्रहरीले पक्राउ गरेन ? भनेर प्रश्न गरेका छन् । ‘मेरो मात्रै होइन, भखैरै मोरङको उर्लाबारीको मुख्य बजारमै रहेको मोबाइल पसलबाट करोडौं मूल्य बराबरका विभिन्न ब्राण्डका मोबायल चोरी भए खै त त्यहाँको चोरी गर्ने गिरोहलाई पक्राउ गरेको,’ राईले भने । मोरङ प्रहरी प्रमुख एसपी नारयाणप्रसाद चिमरियाले विराटनगरमा मोबाइल पसल चोरी भएको खबर प्रहरीलाई प्राप्त नभएको बताए । ‘घटनाको जानकारी आउनु पर्यो नि प्रहरी कहाँ । त्यहाँ चोरी भएको हो वा होइन भन्ने अहिले केही भन्न मिल्दैन । हाम्रो टोलीले सम्बन्धित ठाउँमा पुगेर प्रारम्भिक अनुसन्धान गर्न पाएकै छैन । त्यो मोबाइल पसल चोरी भएको भए पसल धनीले किन प्रहरीलाई खबर नगरेको ? उहाँले घटनाको जानकारी गराएपछि सहयोग नगरेको भए भन्न मिल्छ ।’ पसल धनी राईसँग बुझ्दा थोरै रकमको भएकाले प्रहरीलाई खबर नगरेको बताए । उर्लाबारीको पसलबाट चोरी भएका धेरै मोबाइलहरु भारतीय प्रहरीको सहयोगमा त्यहाँबाट ल्याएर सम्बन्धित पसल धनीलाई बुझाएको एसपी चिमरियाले बताए । पछिल्लो समय विराटनगर महानगरपालिका क्षेत्रमा चोरीका घटना बढेका छन् । https://pradeskhabar.com/archives/90128

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार