धरान : धरान उपमहानगरपालिकामा रोजगार उपलब्ध गराउन सहयोग पुर्याउने उद्देश्यले २ दिने 'धरान रोजगार मेला २०८२' हुने भएको छ ।
'शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार बहुसास्कृतिक, आवासीय समृद्ध सहर' भन्ने नारा सहित धरान उपमहानगरपालिकाको आयोजनामा, कोशी प्रदेश, सामाजिक विकास मन्त्रालयको सहकार्यमा आगामी वैशाख महिनाको ११ र १२ गते पब्लिक हाई स्कुलको खेल मैदानमा आयोजना हुने भएको हो ।
नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपाली र ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्यलाई सहयोग पुर्याउने उद्देश्य लिई यस क्षेत्रका जनशक्तिलाई स्थानीय उद्योग-व्यवसाय, पर्यटन, होटल व्यवसाय, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन सहयोग पुर्याउने हेतुले धरानमा रोजगार मेलाको आयोजना गर्न लागिएको मेयर हर्क साम्पाङले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
यस मेलाले विद्यार्थी तथा युवाहरूलाई वृत्ति परामर्शको सेवा प्रदान गर्ने तथा रोजगारको खोजीमा रहेका युवा जनशक्ति र रोजगारदातालाई एकै स्थानमा ल्याई आ–आफ्नो आवश्यकता अनुसारको जनशक्ति खोज्न र रोज्न समेत सहयोग पुर्याउने उनले बताए ।
रोजगार सम्बन्धी जानकारी तथा सूचना र सम्भावित रोजगारदातासँग प्रत्यक्ष भेट, सीप र योग्यता अनुसारको रोजगारीको सम्भावना, व्यक्तिगत प्रोफाइल बनाउने र अन्तरवार्ता सहित रोजगारीको व्यवस्था, आफूले रोजेको र लिन चाहने सीपमूलक तालिम, विभिन्न तालिम प्रदायक संस्थाहरुसग प्रत्यक्ष भेट लगायत रोजगार मेलाको मुख्य कार्यक्रमहरू हुनेछन् ।
साथै यस मेलामा करिब ५ हजार जना सम्मको सहभागिता रहने अनुमान गरिएको र मेगावाट करिब ५ सय जना युवा जनशक्तिले रोजगार पाउने लक्ष्य रहेको आयोजक धरान उपमहानगरपालिकाले जनाएको छ ।
प्राविधिक, प्रशासनिक क्षेत्रका व्यक्तिका साथै श्रमिक वर्गको पनि सहभागिता रहने यस मेलामा उद्योग÷व्यवसाय, तालिम प्रदायक संस्था लगायत अन्य क्षेत्रका रोजगारदाता, उद्योग वाणिज्य सङ्घ लगायतको समेत सहभागिता हुने छ ।
प्रतिक्रिया