ओली–देउवा भेटवार्ता :सरकारलाई प्रभावकारी र दुई दलीय संयन्त्रलाई अझै बलियो बनाइने

बुधबार, ०३ बैशाख २०८२
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सत्तागठबन्धनलाई बलियो बनाएर लैजाने सहमति भएको छ। गठबन्धन सरकारका बारेमा सत्तासीन कांग्रेसकै नेताहरूबाट प्रश्न उठिरहेका बेला ओली र देउवाबीच मंगलबार बालुवाटारमा भेटवार्ता भएको हो। बिहान ११ बजेदेखि झन्डै ४५ मिनेट भएको उक्त भेटमा सरकारलाई प्रभावकारी बनाउने, दुई दलीय संयन्त्रलाई बलियो बनाउने विषयमा छलफल भएको नेताहरूले बताएका छन्। यस्तै, गभर्नर नियुक्ति र शिक्षक आन्दोलनको विषयमा पनि छलफल भएको थियो। एमाले नेता डा। राजन भट्टराईका अनुसार बैठकमा सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। यस्तै, दुई शीर्ष नेताबीच ‘एक ढिक्का भएर अघि बढ्ने’ सहमति भएको बताइएको छ। भट्टराईले भने, ‘सरकार सञ्चालनका लागि बनाइएको संयत्रको बैठक चाँडै नै बोलाएर अहिले देखिएका सबै खालका समस्याको निकास खोज्न दुई नेता सहमत हुनुभएको छ।’ प्रधानमन्त्री ओलीको निजी सचिवालय र देउवाको सचिवालयले भने सरकारमा रहेका दुवै दलका शीर्ष नेतृत्वबीच नियमित भेटघाट भइरहेको बताएका छन्। देउवाको सचिवालयका एक सदस्यले भने, ‘उहाँहरूबीच यसरी भेटवार्ता चलिरहेकै हुन्छ। आजको भेटलाई अलिक बढी हल्ला गरियो। दैनिक जस्तै भेटघाट भइहेकै हुन्छ।’ त्यसो त यो भेटलाई पछिल्लो समय नयाँ सत्ता समीकरणको सम्भावनासँग जोडेर हेरिएको छ। खासगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि चितवन पुगेर नयाँ वर्षमा नयाँ सरकार बन्ने दाबी गर्दै सञ्चार माध्यमलाई प्रतिक्रिया दिए पछि मुलुकको राजनीति एकाएक तरंगित बनेको थियो। प्रचण्डले भनेका थिए, ‘ओली नेतृत्वको सरकारबाट जनता र कांग्रेस–एमालेकै नेता कार्यकर्ता असन्तुष्ट छन्। अब यो सरकारको आयु लामो छैन, भन्ने मेरो बुझाइ हो। अब नयाँ वर्ष सुरु भए सँगै नयाँ समिकरणको सरकार बन्छ।’ यिनै समीकरणका बीच ओली–देउवा संवाद भएको हो। सरकार सञ्चालन सहजीकरण संयन्त्रका सदस्यसमेत रहेका कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाको पहुँच रहेको र सरकारका निर्णय तिनै बिचौलियाबाट प्रभावित हुने गरेको बताएका थिए। थापाले अगाडि भनेका छन्, ‘हाम्रो इकोनोमी (अर्थतन्त्र)मा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो। म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ, बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो।’ थापाले जोकोही प्रधानमन्त्री तथा नेता बिचौलियाबाट प्रभावित हुने गरेको संकेत गरेका थिए। यद्यपि यसका बाबजुद पनि सरकार र गठबन्धन फेर्ने पक्षमा भने आफू नरहेको समेत स्पष्ट पारेका थिए। थापाले सरकारको गति नभएको र सरकार ट्र्याक्टरको गतिमा हिँडेको बताएका छन्। तन्नेरी मानिसले अहिले दैनिक परिवर्तन खोजिरहेको कुरामा जोड दिएका थिए। उनले सरकारले काम गर्ने कार्यशैलीमा परिवर्तन गर्नुपर्ने भन्दै भने, ‘सरकारले जनतालाई आभाष हुने गरी युद्धस्तरमा काम गर्नुप¥यो। सरकारको जोस र उत्साह नेतृत्वमा देखिएन। यो भएन भन्दैमा कुनै राजनीतिक विकल्प खोज्ने अवस्थामा भने छैनौं।’ थापाको यो किसिमको प्रतिक्रिया आउनुलाई सरकारको संयन्त्रभित्र एक किसिमको छलफल हुने, त्यहाँ समझदारी हुने तर निर्णय अर्कै आउने अवस्थाको परिपार्टी प्रति उनको भनाइ रहेको उनी निकट नेता बताउँछन्। एमालेका नेता भने सरकारप्रति कांग्रेसको दोस्रो तहबाट सुरुदेखि नै आलोचना र टिप्पणी भइरहेको बताउँछन्। वैशाख १ गते बसेको पार्टी सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेसका दोस्रो तहका नेताहरू दलभित्र निर्णायक नरहेकाले उनीहरूका आलोचनाले सरकार ढल्ने अनुमान नगर्न आग्रह गरेका थिए। आजको अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार