सुनसरी : लागू औषध गाँजाको ओसारपोसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले सुनसरीको हुलाकी राजमार्ग (फुलचोक–विराटनगर खण्ड) मा चेकजाँच गर्दा गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।
ईलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरी गस्ती टोलीले बेलुकी ७ः५० बजे रातो–कालो रंगको पल्सर मोटरसाइकल चेकजाँच गर्न खोज्दा सो मोटरसाइकल नरोकि भागेको थियो ।
प्रहरी टोलीले पछ्याउँदै जाँदा हरिनगरा गाउँपालिका–४ स्थित बजार क्षेत्रमा स्थानीयको सहयोगमा मोटरसाइकलको पछाडि सवार एक युवकलाई समातेको हो।
पक्राउ परेका व्यक्ति सप्तरीको कञ्चनपुर स्थायी घर भई हाल सुनसरी बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टी बस्ने २४ वर्षीय राजेश मुखिया रहेको प्रहरीले जनाएको छ। उनको साथबाट बोकेको दुईवटा झोलामा करिब २४ केजी गाँजा बरामद गरिएको छ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको जनाएको छ।
घटनासँग सम्बन्धित मोटरसाइकल र फरार चालकको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया