विराटनगर । नेकपा (माओवादी केन्द्र) विराटनगर महानगर समितिको दोस्रो सम्मेलन वैशाख ७ गते हुने भएको छ ।
माओवादी विराटनगर महानगर समितिले बुधबार (आज) पत्रकार सम्मेलन गर्दै वैशाख ७ र ८ गते दोस्रो सम्मेलन गर्न लागिएको जनाएको छ । पार्टीका महानगरका अध्यक्ष नवीन पौडेलले महानगरको दोस्रो सम्मेलनको उद्घाटन वैशाख ७ र बन्दसत्र ८ गते हुने जानकारी दिए । उनका अनुसार सम्मेलनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने छन् ।
दोस्रो सम्मेलनका लागि वडास्तरबाटै प्रतिनिधि छनोट भइसकेका छन् । ३ सय ५६ जना प्रतिनिधिले ९९ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने पौडेलले बताए । पदाधिकारीमा १ जना अध्यक्ष, ३ जना उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष १–१ जना रहने छन् ।
सम्मेलनका लागि ३ सय ५६ जना प्रतिनिधिसहित ३५ जना पर्यवेक्षक, २५ जना स्वयंसेवक छनोट भइसकेको जानकारी पौडेलले दिए ।
युवा, महिलालगायत सबैलाई क्षेत्रलाई समेटेर पूर्ण समावेशी प्रतिनिधित्वसहितको नयाँ कार्यसमिति बन्ने उनको भनाइ छ ।
प्रतिक्रिया