रामबहादुर बमजनलाई उच्च अदालतबाट सफाइ, छुटेपछि कहाँ छन् ?

विहीबार, ०४ बैशाख २०८२
काठमाडौं : ‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बमजनलाई उच्च अदालत जनकपुरले बाल यौन दुराचारसम्बन्धी मुद्दामा सफाइ दिएपछि उनी जेलमुक्त भएका छन्। तर, छुटेपछि बमजन अहिले कहाँ छन् भन्ने विषयमा अझै स्पष्ट जानकारी सार्वजनिक भएको छैन। उच्च अदालत जनकपुरको नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले सर्लाही जिल्ला अदालतको १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति सम्बन्धी फैसला उल्टाउँदै बमजनलाई २०८१ चैत ६ गते सफाइ दिएको हो। अदालतका उप-रजिष्ट्रार सुशील यादवका अनुसार, अदालतले दाबी नपुग्ने ठहर गर्दै मुद्दा खारेज गरेको हो। बमजनलाई यसअघि सर्लाहीकी एक नाबालिग अनुयायी 'आनी' माथि यौन दुराचार गरेको आरोपमा दोषी ठहर गर्दै सर्लाही जिल्ला अदालतले सजाय सुनाएको थियो। उक्त फैसलाविरुद्ध बमजनले उच्च अदालतमा पुनरावेदन गरेका थिए। फैसला हुने बेला बमजन सिन्धुपाल्चोक कारागारमा थिए। उनलाई अर्की अनुयायी फूलमाया रुम्बा बेपत्ता पारिएको मुद्दाको सुनुवाइका लागि त्यहाँ स्थानान्तरण गरिएको थियो। अदालतको फैसला आएको भोलिपल्ट, चैत ७ गते बमजन कारागारबाट मुक्त भएका थिए। उनलाई छुटाउँदा उनकी श्रीमती दीपशिखा कारागार पुगेकी थिइन्। हालसम्म बमजन कहाँ छन् भन्नेबारे प्रहरी वा सम्बन्धित निकायले कुनै औपचारिक जानकारी दिएको छैन। प्रहरी स्रोतका अनुसार, उनी छुटेपछि सम्पर्कबिहीन छन्। बमजनविरुद्ध अझै केही मुद्दाहरू बाँकी छन्। नुवाकोट, बारा, सर्लाही र सिन्धुपाल्चोक जिल्लामा उनका अनुयायीहरू बेपत्ता पारिएको आरोप, सम्पत्ति शुद्धीकरण, र अन्य अभियोगहरूमाथि अनुसन्धान र न्यायिक प्रक्रिया जारी छ। विशेषगरी, २०८१ फागुनमा सर्लाही जिल्ला अदालतमा दर्ता भएको ८ करोड २७ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा हालसम्म किनारा लागेको छैन।
बमजनको स्थायी ठेगाना बारा निजगढ नगरपालिका-१२ हो। ३० वर्षीय उनको वास्तविक नाम रामलाल बमजन हो। २०८० पुस २५ गते केन्द्रीय अनुसन्धान ब्युरोले बमजनलाई हात्तीगौंडास्थित घरैबाट पक्राउ गरेको थियो

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार