मोरङको कानेपोखरीमा ९ वर्षीय बालकको हत्या आशंका

शनिबार, ०२ बैशाख २०८०
विराटनगर /  मोरङको कानेपोखरी गाउँपालिका–१ बिसनपुरमा ९ वर्षीय बालकको हत्या भएको आशंका गरिएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका–१ घर भइ कानेपोखरी गाउँपालिका–१ बिसनपुरस्थित बडीबुवा (ठूलोबुवा) ढकबहादुर थापाको घरमा बस्दै आएका ९ वर्षीय वेगबहादुर थापाको हत्या भएको आशंका गरिएको हो ।
बालकको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले बडीबुवा ढकबहादुर र बडीआमा तुलास थापालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार बाख्रा बाँध्न भनेर ग्वालीमा गएका बालकलाई शुक्रबार बिहान ७ बजेतिर अचेत भएर ढलिरहेको अवस्थामा फेला पारिएको भन्दै उपचारका लागि बडीबुवाले विराटनगरको कोसी अस्पताल पु¥याएका थिए । बालकलाई अस्पताल ल्याइपु¥याउनसाथ बिहान ११ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।
गाउँमा भने सर्पले डसेर बालकको मृत्यु भएको हल्ला चलाइएको प्रहरीले जनाएको छ । तर, घाँटीमा डोरीले कसेजस्तो डाम देखिएपछि बालकको मृत्युलाई शंकास्पद मानिएको डीएसपी भण्डारीले बताए । प्रहरीका अनुसार बालकका बुवा श्रीबहादुर थापा धनकुटामै बस्छन् । आमाले दोस्रो बिहे गरेपछि बालकलाई २२ महिनाको हुँदादेखि नै बडीबुवा ढकबहादुरले आफ्नो घरमा ल्याएर हुर्काएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृत्यु अस्वभाविक देखिएपछि बालकका बडीबुवा र बडीआमालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा ढकबहादुर र तुलसाले भनेजस्तो नदेखिएको र बालकको हत्या भएको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि कोसी अस्पतालमै राखिएको छ । डीएसपी भण्डारीले पोस्मार्टम रिपोर्ट प्राप्त भएर विस्तृत अनुसन्धान गरेपछि घटनाका बारेमा पत्ता लाग्ने बताए ।
-फाईल तस्विर

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार