विराटनगर । मोरङको रंगेली नगरपालिका ३ आमतोलामा शनिबार बिहान शनि मन्दिर दर्शन गर्न हिँडेका दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना हुँदा एक जना वृद्दा महिलाको मृत्यु भएको छ। ट्याक्टरमा सवार १८ जना घाइते भएका छन्।
तेतरिया आमतोला भित्री सडकखण्ड हुँदै पूर्वतर्फ गइरहेको प्रदेश १-०१-००१ त ९५५३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भएर बिहान १०.१० बजेतिर दुर्घटनामा परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मोरङको ग्रामथान गाउँपालिका ५ की ६० वर्षीया वैशाखी चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा मोरङको ग्रामथान गाउँपालिका ३ की २० वर्षीया जानकीकुमारी माझी, ग्रामथान- ५ की ४० वर्षीया किचनीवती चौधरी, रंगेली -२ की सुनवर्ती चौधरी, २७ वर्षीया जितनी चौधरी, उनका छोरा ३ वर्षीय रायन चौधरी, ग्रामथान -५ की ४३ वर्षीय पूर्णसरी चौधरी, ५० वर्षीय टीकाराम माझी, विराटनगर महानगरपालिका -४ की ३५ वर्षीया सुशीला चौधरी, ५५ वर्षीय टेकनारायन माझी, ग्रामथान- ५ की २६ वर्षीया अनिता माझी, ६५ वर्षीया दुखिया चौधरी, मधुराम माझी, ५० वर्षीय गुलाबचन माझी, ३५ वर्षीया रीता चौधरी, २५ वर्षीया सुनीता भगत, रीताकुमारी माझी, उनका छोरा ५ वर्षीय रितेष माझी र ग्रामथान-६ का ४३ वर्षीय सत्तुलाल माझी घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। घाइतेहरुको रंगेली र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटना लगत्तै ट्याक्टर चालक ग्रामथान-५ का अन्दाजी ३१ वर्षीय बालक माझी फरार बनेका छन् । उनको खोजी तीव्र पारिएको डीएसपी दाहालले बताए । उनका अनुसार रंगेलीमा रहेको सन्सारीमाई मन्दिरमा पूजाका लागि तेतरियाबाट हिँडेकाहरु सवार ट्याक्टर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रतिक्रिया