काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले गम्भीर प्रकृतिका रोग लागेका १२ जना सदस्यहरूलाई राहत सहयोग गर्ने भएको छ ।
आफ्ना सदस्यहरूलाई मुटु, मृगौला, क्यान्सर, पक्षघात जस्ता गम्भीर प्रकृतिको रोग लाग्दा राहत उपलब्ध गराउने गरी जिफन्टले सञ्चालन गर्दै आइरहेको ऐक्यबद्धता कोषको १९ औँ बैठकले १२ जना सदस्यहरूलाई २ लाख ९० हजार सहयोग गर्ने भएको हो ।
बुधबार कोषको बैठकले आफ्ना १२ जना सदस्यहरूलाई जनही २५ हजार रुपैयाँका दरले र मृत्यु भएका एक जनालाई १५ हजार राहत सहयोग गर्ने निर्णय गरिएको जिफन्टका महासचिव लक्ष्मण शर्माले बताए ।
जिफन्ट र घटक युनियनको नियमित सदस्यता नवीकरण र शुल्क बुझाउने सदस्यहरूलाई मुटु, मृगौला, क्यान्सर, पक्षघात जस्ता गम्भीर प्रकारका रोगबाट पीडित र दिवंगतलाई राहत सहयोग गर्न जिफन्टले कोषको स्थापना गरेको हो ।
प्रत्येक ६ महिनामा प्रदान गरिने राहत कार्यक्रम अन्तर्गत बुधबार सम्पन्न बैठकले ११ जनालाई जनही २५ हजार र एक जना मृतकलाई १५ हजार दिने निर्णय गरिएको जिफन्ट एक्यबद्धता कोषका सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी दिए ।
जसमा यातायात क्षेत्रमा काम गर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सदस्यहरू मजदुरहरुमा मुटु रोगी प्रेमबहादुर थापा, मुखको क्यान्सरका कारण मृत्यु भएका बुद्धबहादुर ठटाल, मृगौला रोग पीडित रामगोपालप्रसाद ढकाल, मुटु रोगी युवराज चौधरी मुखको क्यान्सर पीडित जितबहादुर चौधरी, क्यान्सर पीडित ताराबहादुर राना मगर, मुटु रोग पीडित दर्दप्रसाद श्रेष्ठ, क्यान्सर पीडित जनकराज सिग्देल र मृगौला पीडित विराज घर्ती रहेका छन्।
त्यस्तै निर्माण मजदुर क्युपेक नेपालका सदस्य मुटु रोगबाट पीडित नरबहादुर मगर, नेपाल स्वास्थ्य तथा कर्मचारी मजदुर युनियनका सदस्य ब्रेस्ट क्यान्सर पीडित तुलसीकुमारी ढकाल, होटेल मजदुर युनियनका सदस्य मुटु रोग पीडित विनोद उराँव र जुट गार्मेन्ट तथा टेक्सटायल मजदुर युनियनका सदस्य क्यान्सर पीडित सिताराम दास रहेका छन् ।
२०७३ सालदेखि सुरु गरिएको जिफन्ट एक्यबद्धता कोष मार्फत जिफन्टका २ सय ६६ सदस्यहरूले यो कोषबाट राहत सहयोग प्राप्त गरिसकेको कोषका सदस्य बाबुराम कोइरालाले जानकारी गराए ।
प्रतिक्रिया