विगत ११ बर्ष अघिदेखि ‘जोगिन्दरको पान दुकान’ टेलिभिजन कार्यक्रम संचालनमा ल्याएको हुँ । जनचाहना अनुरुप, जनताले चाहेका विषयवस्तु र खुराकहरुलाई निकालेर हास्यव्यङ्ग शैलीमा कार्यक्रम ल्याएको थिए । ११ वर्षसम्म विभिन्न क्षेत्रका व्यक्ति, राजनीतिज्ञ, कलाकार, समाजसेवी, व्यवसायीहरुलाई समेटेर कार्यक्रम गरेको थिए । तर बिचमा कोरोना वा लकडाउनका कारण निरन्तरता दिन सकिएन् ।
हाल बागमती टेलिभिजन र ओएसआर डिजिटलमार्फत ‘जोगिन्दरको पान दुकान सिजन २’ कार्यक्रम सुरु गरेको छु । पहिला हिमालयन टेलिभिजनमा सञ्चालन भएको कार्यक्रम अब वागमती टेलिभिजनमा आउनेछ । सबैले रुचाइदिनुभएको कार्यक्रम फेरि परिमार्जिनसहित आएकाले यसले थप उचाइ लिने विश्वास लिएको छु । सिजन १ भन्दा अझ परिमार्जित रुपमा गेष्टहरु बोलाउने, उनीहरुका बाल्यकालदेखिका क्षणहरु, प्रेमपत्रका कुराहरु समेटेर रमाइलो बनाउने प्रयास गरेको छु । लोपोन्मुख कुराहरु कार्यक्रममा समेट्ने मेरो प्रयास रहनेछ ।
‘जोगिन्दरको पान दुकान’ भनेको सबैको साझा थलो हो । एउटा वरपिपलको शितल दिने चौतारी पनि हो । राजनीति, कलाकारिता व्यवसायी, विभिन्न विधामा लागेका व्यक्ति, खेलाडी, संगीतकार, गीतकार, गायक, कलाकारहरु यसमा गेष्टका रुपमा हुनेछन् । कोही सडकमा हुनुहुन्छ, मकै पोल्दै हुनुहुन्छ भने पनि उहाँहरुलाई जोगिन्दर पान दुकान–२ सिजनमा निम्ता गरिनेछ । प्रत्येक बिहीबार ८ः३० बजेदेखि ९ बजेसम्म बागमती टेलिभिजन र ९ बजेबाट ओएसआर डिजिटलमार्फत कार्यक्रम बजारमा जान्छ । पहिलो एपीसोड अहिलेको टिकटकर कुलव्वाईलाई लिएका छौं । दोस्रोमा राजनीतिज्ञ सिके राउत र अर्कोमा कमल खत्री हुनुहुन्छ । सबै विषयबस्तु र व्यक्तिहरुमाथि क्यारिकेचर पनि गर्छु ।
नेपालको राजनीतिको अवस्थाका बारेमा व्यङ्य पनि गर्छु । अहिलेको राजनीतिक अवस्था हेर्ने हो भने राजनीतिप्रति र व्यवस्था संचालन गर्ने सरकार, पार्टीमा बसेका, एवम राज्यसत्ता सञ्चालनको प्रत्यक्ष एवम अप्रत्यक्ष रुपमा बसेका नेताहरुप्रति जनताको जनगुनासो र आक्रोश पनि देखिन्छ ।
जनताले भनेका कुराहरु पाउन नसक्ने, विकास निर्माणका कामहरु ठप्प हुने, हरेक क्षेत्रमा विकृती, विसंगती बढ्दै जाने, देशमा सम्भावना नभएर लाखौं व्यक्तिहरु प्रत्येक दिन वैदेशिक रोजगार जाने जस्ता कुराहरुले गर्दा व्यवस्थाभन्दा पनि पार्टी सञ्चालन अथवा सरकार चलाउनेहरुप्रति जनतामा आक्रोश छ । त्यो कुरालाई छिटोभन्दा छिटो सम्बोधन गरिएन भने यो बिस्फोटन हुन सक्छ । त्यो बिस्फोटले कता कता हानी र क्षति गर्छ त्यो भन्न सक्ने अवस्था छैन् । तर त्यो बिस्फोट भयो भने अवश्य त्यसले देशलाई धेरै ठूलो क्षति गर्छ । बिस्फोट हुनुभन्दा अगाडि बाटो छाडेर हिडेको राजनीतिक परिवेशलाई सही दिशा दिने काम सम्बन्धित निकाय, नेता र सरोकारवाला व्यक्तित्वहरुले गर्नुपर्छ ।
अहिलेसम्मको सबैभन्दा राम्रो व्यवस्था भनेको नै लोकतन्त्र हो । नेपाल पनि यही व्यवस्थालाई अगाडि बढाइरहेको छ । लोकतन्त्रमा सम्पूर्ण पक्षहरुले आफ्नो हक अधिकार माग्न पाउछन् । त्यसै अन्तरगत राजावादीहरुले पनि राजालाई कतै ठाँउ दिउ भनेर आन्दोलन गर्नु भएको हो । गणतन्त्रमा आन्दोलन गर्न पाइन्छ तर शान्तिपूर्ण तरिकाले गर्नुपर्छ ।
योसँगै शिक्षक संघ र चिकित्सक संघले विभिन्न माग राखेर आन्दोलन गरिरहेको छ । त्यसमा सबैभन्दा ठूलो माग भनेको शिक्षा ऐन हो । शिक्षा ऐन ल्याउन सरकारलाई आपत्ति होला जस्तो लाग्दैन् । तीनवटा प्रधानमन्त्रीसँग यो भन्दा अगाडि सहमति गरिसकेको कुराहरु रहेछन् । सहमतिलाई कार्यान्वयन गर्नुपर्छ । राज्यलाई आर्थिक भार पर्ने तरिकाको माग सरकारले पनि पूरा गर्न सक्छ जस्तो लाग्दैँन् । तर शिक्षकका धेरै मागहरु जायज छन्, ती मागलाई सरकारले सम्बोधन गर्नुपर्छ ।
यस्तै, चिकित्सकहरुको पनि मागलाई सम्बोधन गर्नुपर्छ । यसो भएन भने केही वर्षपछि मुलुकमा डाक्टर, स्टाफ नर्सहरु देखिन कठिन हुन्छ । किनभने अहिले नै धेरै डाक्टरहरु विदेश पलायन भइसकेका छन् । चिकित्सकहरुलाई आफ्नो देशमा स्थायित्व हुनेगरि बसोबास गर्नको लागि पनि चिकित्सक संघ अथवा डाक्टरहरुले गरेका आन्दोलन र उहाँहरुको मागलाई सम्बोधन गर्नुपर्छ ।
कलाकारिता क्षेत्र पछिल्लो चरणमा राम्रो भएको छ । कलाकारहरु बाँच्नको लागि विदेश नै जानुपर्छ जस्तो लाग्दैन् । किनभने अहिले धेरै सम्भावनाका ढोकाहरु खुलेका छन् । देश र विदेशमा विभिन्न प्रकारको कार्यक्रमहरु भइरहेका छन् । अहिले आधुनिक युग भएको कारणले घरमै बसीबसी पनि आफ्ना प्रस्तुतीहरु देखाएर सामाजिक सञ्जालमार्फत पैसा कमाउन सकिन्छ ।
पहिलाको जस्तो अवस्था छैन् । कलाकारिता गरेर आनन्दले आफ्नो जीवनयापन गर्न सक्ने अवस्था छ । दर्शकहरुले अलि बढि उश्रृंखल विषयहरु बढी मन पराउने गरेका छन् । तर यस्तो कुरा क्षणिक मात्र हो । त्यो दिगो हुँदैन र त्यसले राम्रो गर्दैन् । यसले समाजमा राम्रो सन्देश प्रवाह गर्दैन् । हामीले दिने कुरा समाजको लागि सन्देशमूलक नै हुनुपर्छ । प्रस्तुत गरेको कुराले समाजमा विकृती ल्याउनु हुदैँन् । यस्तो कुरा सुधार गर्दै अगाडि बढ्नुपर्छ ।
महिलाहरुलाई बढि मात्रामा प्रयोग गरेर हसाँउने विषयहरुमा सुधार गर्दै लग्यो भने दिर्घकालसम्म र अनन्तकालसम्म स्थायित्व हुन्छ । त्यसैले दोस्रो सिजन आउँदैछ । मलाई विश्वास छ जनताले मागेका चिज र जनजनको अपेक्षा अनुरुपको चिजलाई कार्यक्रममा ढालेर अगाडि बढ्न सके जनताको माया अवश्य पाइन्छ । त्यही अनुरुप ‘जोगिन्दरको पान दुकान सिजन २’ आएको हो ।
कुनैपनि काममा नकरात्मक प्रतिक्रिया आएन भने त्यो कामले सफलता पाउँदैन । कुनैपनि चिजका बारेमा समिश्रण प्रतिक्रिया आउनुपर्छ । नकरात्मक प्रतिक्रियाले पनि सकरात्मक बाटोमा जाने प्रेरणा दिन्छ । त्यसबाट शिक्षा लिएर अघि बढ्नुपर्छ । काम गर्दा सकरात्मक र नकरात्मक प्रतिक्रिया आउनु स्वाभाविक हो । संसारमा गल्ती नगर्ने वेलायतका राजा मात्र हुन् । किनभने उनलाई काम गर्ने अधिकार दिएको छैन काम नगरेपछि गल्ती हुँदैन । कार्यकारी अधिकार लिएर काम गरेपछि सकरात्मक र नकरात्मक सबै आउँछ । नकरात्मक प्रतिक्रिया आउनासाथ खतम भयो, बर्वाद भयो भन्नेतिर लाग्नुभयो राम्रो हुँदैन् । नकरात्मक प्रतिक्रियालाई सकरात्मक रुपमा लिनुपर्छ ।
जोगिन्दरको पान दुकानका विषयमा अमेरिकाको एक संस्थाले सर्ट फिल्म बनाएको थियो । त्यो एचआइभीको विषयबस्तुमा बनेको थियो । नारायण पुरीलगायतका टिमले बनाउनु भएको थियो । त्यसको मुख्य भूमिकामा म थिएँ । म त्यसमा पानवाला बनेर एचआइभी नियन्त्रणको लागि अस्थायी साधनहरु ढाल, प्यान्थरलगायत विभिन्न साधनको विक्री विततरण गर्ने पानवाला थिए । त्यो कार्यक्रम र मेरो पानवाला क्यारेक्टर सर्वाधिक रुचाइयो । एक नम्बरको कार्यक्रम भनेर पुरस्कार पनि प्रदान गरियो ।
सोहीबेला पानको सेट बनाएर हिमालय टेलिभिजनबाट सुरु ‘जोगिन्दरको पान दुकान’ सुरु भएको हो । त्यसैले पनि मलाई मेरो रियल नामले चिन्ने घरपरिवारले मात्र हो । दर्शकहरुले जोगिन्दर भनेर चिन्छन् । कतै बोलाउँदा पनि मेरो नामबाट बोलाएको थाहा छैन । आफ्नै गाउँघरमा मात्र हो शिवशंकर रिजाल भनेर बोलाउँछन् ।
(नेपाल न्यूज बैंकसँग गरिएको कुराकानीमा आधारित)
प्रतिक्रिया