फोटो पत्रकारिताले देशको यथार्थ देखाएको छ : सभामुख घिमिरे

शनिबार, १३ बैशाख २०८२

काठमाडौं : सभामुख देवराज घिमिरेले फोटो पत्रकारिता लोकतान्त्रिक समाजको अनिवार्य अङ्ग भएको बताएका छन्। राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालको आयोजनामा शनिबार ललितपुरमा सम्पन्न पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ समारोहलाई सम्बोधन गर्दै उनले फोटो पत्रकारिताले देशको वास्तविकता उजागर गर्ने महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

सभामुख घिमिरेले प्रजातन्त्र, लोकतन्त्र र गणतान्त्रिक व्यवस्थामा पत्रकारिताको मात्र होइन, फोटो पत्रकारिताको समेत विशेष योगदान रहेको स्पष्ट पारे। उनले तस्वीरहरूका माध्यमबाट हजारौँ भ्रमात्मक सन्देशहरूको खण्डन गरी सत्य तथ्य प्रस्तुत गर्ने कार्यमा फोटो पत्रकारहरूले गरेको भूमिका प्रशंसायोग्य रहेको बताए। साथै, फोटो पत्रकारिताले विगतदेखि वर्तमान हुँदै भविष्यसम्मको यात्रामा मुलुकलाई अभिलेख राख्ने जिम्मेवारी पनि वहन गरेको घिमिरेको भनाइ थियो।

चैत्र १५ गते पत्रकार सुरेश रजकले ज्यान गुमाएको घटनालाई स्मरण गर्दै उनले फोटो पत्रकारिता चुनौतीपूर्ण र जोखिमपूर्ण पेशा भएको उल्लेख गरे। फोटो पत्रकारिताको महत्वलाई देशले बुझेको र आगामी दिनमा यस पेशाका चुनौतीहरूसँग जुध्न सकिने वातावरण बनाउन प्रतिबद्ध रहेको उनले बताए।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले पनि फोटो पत्रकारहरूको प्रशंसा गर्दै कठिन परिस्थितिमा सत्य उजागर गर्ने कार्यमा उनीहरूको निष्ठा उल्लेखनीय रहेको बताए। मन्त्री खड्काले, "शब्दलाई त कुनै कोणबाट मोड्न सकिन्छ, तर फोटो पत्रकारिताले निष्पक्ष ढङ्गमा दुष्प्रचारलाई खण्डन गर्न सक्ने अद्वितीय क्षमता राख्छ," भने। उनले फोटो पत्रकारितालाई श्रव्यदृश्य सूचनाको एक जोखिमपूर्ण तर महत्वपूर्ण विधा भन्दै भविष्यका पुस्तालाई प्रेरित गर्ने कार्यमा सफल फोटो पत्रकारहरूलाई धन्यवाद दिए।

समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने फोटो पत्रकारहरूलाई सम्मान गरिएको थियो।

मुख्य पुरस्कारहरू यसप्रकार छन्:

  • नेपाल टेलिकम दैनिक जीवन फोटो पत्रकारिता अवार्ड — दीपेन्द्र ढुंगाना (नयाँ पत्रिका)

  • पन्चकन्या ग्रुप महिला फोटो पत्रकारिता अवार्ड — कविता थापा (गोरखापत्र दैनिक)

  • सूर्यज्योति लाइफ इन्स्योरेन्स राजनीतिक फोटो पत्रकारिता अवार्ड — स्कन्द गौतम (द हिमालयन टाइम्स)

  • डिश होम इन्टरनेट खेलकुद फोटो पत्रकारिता अवार्ड — उदिप्त सिंह क्षेत्री

  • कृषि विकास बैंक स्वतन्त्र फोटो पत्रकारिता अवार्ड — राजिब हेन्गाजु (नेपाल आर्मी)

  • एडभेन्चर आउटडोर पर्यटन तथा संस्कृति फोटो पत्रकारिता अवार्ड — मनोजरत्न शाही (गोरखापत्र अनलाइन)

  • राष्ट्रिय वाणिज्य बैंक मनोरञ्जन फोटो पत्रकारिता अवार्ड — अभिषेक महर्जन (अन्नपूर्ण पोस्ट डटकम)

  • ग्लोबल आइएमइ बैंक आर्थिक फोटो पत्रकारिता अवार्ड — चन्द्रबहादुर आले (अनलाइन खबर डटकम)

प्रदेशस्तरका विजेताहरू:

  • कोशी प्रदेश — सुजन बज्राचार्य (रासस संखुवासभा)

  • मधेश प्रदेश — राम सर्राफ (यात्रा डेली)

  • बागमती प्रदेश — नबिन पौडेल (रासस)

  • गण्डकी प्रदेश — प्रेम थापा (परिचय डटकम)

  • लुम्बिनी प्रदेश — माधव प्रसाद अर्याल (कान्तिपुर दैनिक)

  • कर्णाली प्रदेश — अमृत कुमार बुढाथोकी (हिमालय टेलिभिजन)

  • सुदूरपश्चिम प्रदेश — लोकेश साउद

समारोहमा जीवनभर फोटो पत्रकारितामा योगदान पुर्याएका वरिष्ठ फोटो पत्रकार देवेन्द्रमान सिंहलाई 'लाइफटाइम एचिभमेन्ट अवार्ड' प्रदान गरियो। साथै, संस्थाका दिवंगत आजीवन सदस्य चुङ्बा शेर्पालाई मरणोपरान्त विशेष सम्मान प्रदान गरिएको थियो।

राष्ट्रिय फोटो पत्रकार आपतकालीन राहत कोषमा योगदान गर्ने विभिन्न समाजसेवी तथा शुभेच्छुकहरूलाई पनि प्रशंसा पत्र वितरण गरिएको थियो।

पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्डका लागि निर्णायक मण्डल अध्यक्ष प्रदिपराज वन्तको संयोजकत्वमा वरिष्ठ फोटो पत्रकार शैलेन्द्र खरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया, सूर्यज्योति लाइफ इन्स्योरेन्सका मेघेन्द्र प्रकाश गिरी, प्राज्ञा वास्तुकला तथा सृजनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी र देश सञ्चारका सहसम्पादक मनोज दाहाल सम्मिलित भएर गठन गरिएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार