पार्टीका विभागहरूको सक्रियताप्रति देउवा खुशी

मंगलबार, १६ बैशाख २०८२

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरूले देखाएको सक्रियताको प्रशंसा गरेका छन् । उनले विभागहरूको सक्रियताले पार्टीलाई गतिशील र नयाँ ऊर्जा थपेको बताए ।

मंगलवार सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा पार्टीको विपन्न उत्थान समन्वय विभागले तयार पारेको विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न गराउन नीतिगत तथा कार्यक्रम सहितको प्रतिवेदन बुझ्दै विभागहरूको प्रशंसा गरेका हुन् ।

उनले लामो अध्ययन, छलफल, भेटघाट र विज्ञहरूसँग भएको अन्तरक्रियात्मक लगायतका कार्यक्रमहरूबाट प्राप्त हुने विषयवस्तुहरू पार्टीका लागि भावी रणनीतिको तर्जुमाका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

देउवाले कांग्रेसको विपन्न उत्थान समन्वय विभागले आफ्नो क्षेत्राधिकारभित्र रहेर सबै विषय वस्तुहरूलाई समेटेर प्रतिवेदन पेस गरेकोमा विभागका प्रमुखसहित सदस्यहरूलाई धन्यावाद दिए ।  

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सीप र क्षमता भए जुनसुकै डाँडामा बसेरै पनि महिनाको दुई तीन लाख कमाउन सकिने बताए । 

उनले भने, ‘मैले कीर्तिपुरको डाँडा भनेपछि तपाईँ सबैलाई त्यही प्रसङ्ग याद आउँछ । एउटा डाँडामा बसेर दुई तीन लाख कमाउन सकिन्छ भनेर मैले भनेँ । कतिलाई रमाइलो कुरा भयो । तर त्यो ड्रिम हो । सम्भव छ । एउटा व्यक्तिलाई सीप र क्षमता दियो भने त्यो सम्भव छ । अब हामी नलेज इकोनोमीमा छिरेका छौँ । अहिले चाइनामा जन्मिएको एउटा केटाले डिपसिक बनाएर च्याट जिपीटीसँग कम्पिटीसन गर्छु भन्ने ठाउँमा पुगेको अवस्था छ ।’

सीप खाली खोस्रिने र कतार मलेसियामा गएर डुङ्गाको गाह्रो लगाउने मात्रै नभई त्यो सीप सूचना प्रविधिले ल्याएको अवसरलाई प्रयोग गर्ने सीप विपन्न परिवारको मान्छेलाई उपलब्ध गराउन सक्नुपर्ने उनको भनाई छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार