भारत सरकारबाट नेपालका प्रतिगामी शक्तिहरूलाई उक्साउने गतिविधि भएको छैन : डा. बाबुराम भट्टराई

मंगलबार, १६ बैशाख २०८२

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले भारत सरकार वा भारतका प्रमुख शक्तिहरूबाट नेपालका प्रतिगामी शक्तिहरूलाई उक्साउने कुनै गतिविधि नभएको स्पष्ट पारेका छन्।

भारत भ्रमण सकेर मंगलबार स्वदेश फर्किएका डा. भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भारत सरकारले नेपालको लोकतान्त्रिक व्यवस्थाविरुद्ध कुनै हस्तक्षेप नगरेको दाबी गरे।

उनका अनुसार भारतमा नेपालका पछिल्ला आन्दोलनहरूबारे केही चासो देखिएको भए पनि ती आन्दोलनहरूले देशको लोकतन्त्रमा नकारात्मक प्रभाव पार्ने हो कि भन्ने आशंका मात्रै देखिएको हो। उनले भने, "भारतमा चासो रहेको विषय भनेको यहाँ भइरहेका भिन्न प्रकृतिका आन्दोलनहरू हुन्। ती आन्दोलन व्यवस्थाविरुद्ध जान्थे कि भन्ने चिन्ता थियो। मैले स्पष्ट पारेको छु—हाम्रो व्यवस्था सुरक्षित छ, र भारत सरकार वा त्यहाँका प्रमुख शक्तिहरूबाट प्रतिगामी शक्तिलाई उक्साउने कुनै गतिविधि भएको छैन, हुन पनि सक्दैन। त्यसबाट भारतलाई लाभ पनि हुँदैन।"

भट्टराईले नेपाल–भारत सम्बन्धको ऐतिहासिक महत्वलाई ख्याल गर्दै समस्याहरूलाई संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिए। उनले वर्तमान समस्याहरू समाधान गर्न ‘इपिजी’ (इमिनेन्ट पर्सन ग्रुप) प्रभावकारी माध्यम बन्न नसकेको स्वीकार गर्दै, अब नयाँ विकल्प अपनाउनुपर्ने विचार व्यक्त गरे।

“इपिजीले अपेक्षाकृत भूमिका निर्वाह गर्न सकेन भन्ने कुरा भारतको उच्च तहसम्म करिब निर्णय भइसकेको रहेछ,” उनले भने, “अब त्यसमा किचलो गर्नुको सट्टा नयाँ उपाय खोज्नुपर्छ। त्यसका लागि प्रधानमन्त्री तहमै संवाद हुनुपर्छ भन्ने मेरो सुझाव हो।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार