उदयपुर : उदयपुरको कटारी नगरपालिकास्थित मदन भण्डारी लोकमार्गमा स्कार्पीयो गाडी दुर्घटना हुँदा एक जना कानुन अधिकृतको ज्यान गएको छ भने अन्य छ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा झापा, दमक नगरपालिका ५ निवासी ५५ वर्षीय माधव बस्नेत रहेका छन् । उनी दमक नगरपालिकामा कानुन अधिकृतको रूपमा कार्यरत थिए । गम्भीर घाइते अवस्थामा कटारी अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
बुधबार झापातर्फ जाँदै गरेको मे १ च ३०४० नम्बरको स्कोर्पियो गाडी कटारी नगरपालिका–६, सोमबारे नजिकै पुग्दा अनियन्त्रित भई सडक किनारमा रहेको फलामको ट्रस्ट बेरियरमा ठोक्किएको थियो ।
दुर्घटनामा गाडी चालक ३८ वर्षीय देवेन्द्र तामाङसहित ६ जना यात्रु घाइते भएका छन् । सबै घाइतेहरूको अहिले कटारीमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिका कारण गाडी अनियन्त्रित भएको हुन सक्ने आशंका गरिएको छ ।
ईलाका प्रहरी कार्यालय कटारीबाट प्र.ना.उ. कमल बजगाँई को कमाण्डमा खटिएको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रतिक्रिया