सरकार जनताको होइन, पूँजीपतिहरुको पक्षमा छः झलनाथ खनाल

शनिबार, २० बैशाख २०८२

 

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सरकारमा दलाल पूँजीवादी पार्टीहरु रहेकाले जनताको हितमा नीति तथा कार्यक्रम नबनेको बताएका छन् ।

नेपाल आदिवासी जनजाती महासंघ समाजवादीको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले  जनताको समस्या समाधान नगर्ने बताएका हुन् ।

‘अहिले दुई वटा पार्टीको सरकार छ एउटा पार्टी दलाल पूँजीवादी पार्टी हो । त्यो पार्टीले जनताको समस्या समाधान गर्ला भनेर आम जनताले सोचेकै छैन । किनभने त्यो समस्या समाधान गर्ने उनीहरुसँग नीति पनि छैन, कार्यक्रम पनि छैन । हिजो पनि छैन, आज पनि छैन । अहिले बजेट आयो त्यहाँ पनि छैन । यो बजेट त नेपाली कांग्रेको मात्र त हैन, सरकारमा ७ वटा पार्टी छन् । दोस्रो ठुलो पार्टी नेकपा एमालेले पनि ल्याएको नीति कार्यक्रम हो तर यो नीति कार्यक्रममा कांग्रेसको नीति र कार्यक्रम भन्दा भिन्न केही छैन । यो दुःखद् कुरा हो,’उनले भने ।

नेता खनालले सरकारमा भएको पार्टीले ल्याएको नीति कार्यक्रमबाट आफूहरु फरक बाटो हिड्नुपर्नेमा स्पष्ट भएको पनि बताए । 

उनले भने,‘यो पार्टीले शोषण अन्यायमा परेका जनताहरुको समस्याहरु समाधान गर्न सक्दैन भन्ने कुरा हिजोको नीति तथा कार्यक्रमले प्रस्ट भयो । त्यसो हुनाले हामी फरक बाटो हिड्नुपर्छ भन्ने कुरामा हामी प्रस्ट भएका छौँ । पूँजीवादी संघीय गणतन्त्रले जनताका आधारभूत आवश्यकता पुरा गर्न सक्दैन । पूँजीवादी आफै शोषणको व्यवस्था हो।’

उनले अहिलेको व्यवस्थासँग लडाइ गर्दै आफ्ना मागहरु पुरा गर्ने तर समस्या हल गर्छ भनेर आशा नगर्ने बताए । उनले समाजवादी व्यवस्था नआएसम्म आवश्यकता पुरा नहुने भन्दै समाजवाही क्रान्ति आजको आवश्यकता रहेको पनि बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार