झापा : पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको काँकडभिट्टादेखि लौकहीसम्मको खण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम मनसुन सुरु हुनु अगावै सक्न निर्देशन दिइएको छ। काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकले निर्माण कम्पनीलाई शुक्रवार पत्राचारमार्फत निर्देशन दिएको हो।
एसियाली विकास बैङ्कको सहयोगमा झन्डै १० अर्ब रुपैयाँको लगानीमा सडक स्तरोन्नतिको काम भइरहेको छ। आयोजनाका प्रमुख इन्जिनियर सुनिलबाबु पन्तका अनुसार मनसुनका कारण डाइभर्सन बगाउने खतरा रहनुका साथै त्यसले यातायात पनि पूर्ण रूपमा अवरुद्ध गराउन सक्ने भएकाले समयमै काम सम्पन्न गर्न भनिएको हो।
उनका अनुसार वर्षायाममा डाइभर्सन भएका स्थानमा खाल्डाखुल्डी र कमजोर संरचनाका कारण दुर्घटनाको जोखिम उच्च हुने भएकाले साना पुल र कल्भर्टका काम सकाएर मुख्य राजमार्गमार्फत नै आवागमन सुरु गर्ने लक्ष्य राखिएको छ।
योजना कार्यालयले निर्माण कम्पनीको कामको प्रगति नियमित रूपमा अनुगमन गरिरहेको र बर्खाको समयमा पूर्वपश्चिम राजमार्गमा अवरोध नहोस् भन्ने उद्देश्यले तयारी अघि बढाइएको जनाएको छ।
काँकडभिट्टा–लौकही सडक योजनाको पूर्वी खण्डमा हालसम्म सडक निर्माणमा मात्र १९ प्रतिशत र पुल तथा कल्भर्ट निर्माणमा १७ प्रतिशत भौतिक प्रगति भएको छ।
आयोजनाको निर्माण कम्पनीले पटक–पटक पत्राचार गर्दा पनि सन्तोषजनक प्रगति गर्न नसकेको भन्दै आयोजनाका प्रमुखले असन्तोष व्यक्त गरेका छन्। सडक निर्माणमा भइरहेको ढिलासुस्तीका कारण आगामी वर्षामा यातायात नै अवरुद्ध हुनसक्ने जोखिमसमेत स्थानीयवासीले औँल्याएका छन्।
यद्यपि, आयोजनाका प्रमुख पन्तले वर्षातको समयमा सडक क्षेत्रमा उत्पन्न हुन सक्ने समस्याको समाधानका लागि ‘र्यापिड रेस्पोन्स टोली’ परिचालनको तयारी भइरहेको बताएका छन्।
उनले वर्षातकको समयमा पनि सडक निर्माणको काम नरोकिने स्पष्ट पारेका छन्। तथापि, कामको हालको प्रगति हेर्दा तोकिएको समय सीमा भित्र निर्माण कार्य सम्पन्न हुनेमा प्रश्न उठ्न थालेको छ।
निर्माणाधीन एसियन हाइवे परियोजनाको करिब २५ प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ । झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म ९६.७६० किलोमिटर लामो सडक खण्डको काम भइरहेको छ।
३४ अर्ब ९० करोड रुपैयाँ लागतको यो परियोजनामा एसियन विकास बैंकको ८४.१ प्रतिशत र नेपाल सरकारको १५.९ प्रतिशत लगानी रहेको छ । परियोजना सन् २०२७ फेब्रुअरी १ भित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको छ । जसको सुरुवात सन् २०२४ फेब्रुअरी १ बाट गरिएको हो ।
प्रतिक्रिया