काठमाडौं : नेपाली कांग्रेसका शीर्ष नेताहरूले सरकार सात बुँदे सहमति कार्यान्वयनमा असफल भएको निष्कर्ष निकालेका छन्।
आइतबार पूर्वउपसभापति गोपालमान श्रेष्ठको निवासमा बसेको नेताहरूको बैठकमा यस्तो निष्कर्ष निकालिएको हो। बैठकमा नेताहरूले गत असार १७ गते कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिअनुसार सरकार नचलेको र जनस्तरमा निराशा थपिएको उल्लेख गर्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।
उक्त बैठकमा सहभागी एक नेताका अनुसार, "दुई ठूला दलबीच सहमति हुँदा पनि जनतामा आशा जगाउने सट्टा निराशा बढेको छ। सरकारको काम प्रभावकारी हुन सकेको छैन, अब सुधार अपरिहार्य छ।"
सरकारको नेतृत्वमा रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंह पनि उक्त असन्तुष्टि छलफलमा सहभागी थिए।
बैठकमा कांग्रेसको १५औँ महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न आवश्यक तयारी र रणनीतिका विषयमा पनि चर्चा भएको थियो।
नेताहरूले सभापति शेरबहादुर देउवासँग सामूहिक भेट गरेर महाधिवेशनबारे औपचारिक छलफल गर्ने तयारी गरेका छन्। साथै, देउवाको उत्तराधिकारीको सम्भावित नामबारे पनि नेताहरूबीच निरन्तर संवाद भइरहेको स्रोतले जनाएको छ।
बैठकमा विमलेन्द्र निधि, कृष्ण सिटौला, प्रकाशमान सिंह, शशांक कोइराला र प्रकाशशरण महतजस्ता वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया