काठमाडौँ : गत वैशाख ३० गते काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीस्थित किराना पसलमा कुटपिट पछि हत्या गरिएका बलिन्द्र प्रकाश राईको घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार मृतक ३७ वर्षीय राईको हत्या आरोपमा फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा विभिन्न जिल्लाका पाँच युवक छन्।
पक्राउ पर्नेहरूमा रामेछाप सुनापती–४ का २९ वर्षीय प्रविण तामाङ, सर्लाही बाग्मती–३ का समीर वाइबा तामाङ, अभिषेक वाइबा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती–६ का दीपेन्द्र भुजेल र काभ्रेपलाञ्चोक चौरीदेउराली–७ का अनुराग तामाङ छन्।
बलिन्द्र राई वैशाख ३० गते राति ९ बजेतिर आफ्नो किराना पसलमा बसिरहेका बेला ती युवाहरूको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएका थिए। उपचारका क्रममा राइको मृत्यु भएको थियो ।
पक्राउ परेका सबैलाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गराई प्रहरी वृत्त बौद्धबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।
प्रतिक्रिया