काठमाडौँ : नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त गर्ने विषयलाई लिएर सत्तारूढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको असहमति चुलिँदै गएको छ।
गत २०८१ चैत २४ गतेदेखि गभर्नरविहीन रहेको राष्ट्र बैंकमा ऐन अनुसार नियुक्ति गर्नुपर्ने समयसीमा नाघिसकेको छ, तर राजनीतिक रस्साकस्सीका कारण नियुक्ति अझै सम्भव भएको छैन।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले हालका डेपुटी गभर्नर डा. नीलम ढुङ्गानालाई गभर्नर बनाउने अडान लिएका छन्।
अर्कोतर्फ कांग्रेस सभापति शेरबहादुर देउवा भने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेलको नाम अघि सारेका छन्। यही कारण गभर्नर सिफारिस समितिको बैठकसमेत बस्न नसकेको हो।
सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले चार दिनभित्र नियुक्ति हुने बताएका थिए, तर राजनीतिक सहमतिको अभावले प्रक्रिया अवरुद्ध भएको छ।
सोमबार साँझ प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए पनि अन्तिम समयमा स्थगित गरियो। ओलीले देउवालाई साँझ छलफलका लागि पनि बोलाए तर देउवा उपस्थित भएनन्। यो घटनाक्रमले गठबन्धन सरकारमै असहजता सिर्जना भएको संकेत देखिएको छ।
राजनीतिक विश्लेषक शंकर तिवारी र विष्णु दाहालको धारणा अनुसार गभर्नर नियुक्ति विवाद सत्तागठबन्धनको स्थायित्वमै खलल पुर्याउने तहमा पुगेको छ।
विश्लेषकहरूका अनुसार गभर्नरको नियुक्तिमा निर्णय नहुनु भनेको सिङ्गो सरकारको कार्यसम्पादनमा समेत बाधा सिर्जना हुनु हो।
प्रतिक्रिया