धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिना अघिदेखि उपकुलपति रिक्त रहँदा निमित्त नेतृत्वको भरमा चलिरहेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका चार प्रतिष्ठानमध्ये बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत उपकुलपति पद रिक्त भएको एक महिना बढी समय बितिसक्दा पनि सरकारले नयाँ नेतृत्व नियुक्त गर्न सकेको छैन।
गत चैत २७ गतेदेखि उपकुलपति पद खाली रहेपछि प्रतिष्ठानको नेतृत्व डा। सञ्जीव शर्माले निमित्त रूपमा सम्हालिरहेका छन्। तर कर्मचारीहरूले निमित्त नेतृत्वले दीर्घकालीन योजना, बजेट निर्माण र गुणस्तरीय सेवा प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गर्न नसक्ने गुनासो गरिरहेका छन्। उनीहरूका अनुसार ठोस नीतिगत निर्णय, अन्तर्राष्ट्रिय सहकार्य तथा स्थायित्व अभावमा संस्थागत प्रगति प्रभावित भइरहेको छ।
यसबारेमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले भने, “ प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि मन्त्रालयले चाँडै प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ।” तर मन्त्रालय स्रोतका अनुसार राजनीतिक भागबन्डा नमिल्दा प्रक्रिया अघि बढ्न सकेको छैन।
स्वास्थ्य शिक्षा नीति, अनुसन्धान र सेवा विस्तारका हिसाबले बीपी कोइराला प्रतिष्ठान जस्तो उच्चस्तरीय संस्थामा लामो समयसम्म पूर्णकालीन नेतृत्व अभाव हुनु गम्भीर चुनौती बनेको छ।
स्वास्थ्य क्षेत्रका विज्ञहरू भन्छन्, “निमित्त नेतृत्वको कार्यकाल अनिश्चित हुने भएकाले उनीहरू रणनीतिक र प्रभावशाली निर्णय लिन हिचकिचाउँछन्, जसले दीर्घकालीन दृष्टिकोण प्रभावित बनाउँछ।”
उपकुलपति नियुक्तिमा भएको ढिलाइले न केवल प्रशासनिक स्थायित्वमा असर परेको छ, र स्वास्थ्य शिक्षाको गुणस्तर, दीर्घकालीन नीति निर्माण र सेवामा समेत चुनौती थपिएको छ।
प्रतिक्रिया