इटहरी : इटहरी उपमहानगरपालिका–१ मा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थामा देखिएको आन्तरिक विवादमा प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले चासो देखाएको छ ।
सेयर सदस्यता खारेज गरिएको विषयमा उजुरी परेपछि कोशी प्रदेश सहकारी रजिस्ट्रार कार्यालय, इनरुवाले संस्थालाई सात दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो ।
संस्थाका पूर्व अध्यक्ष कृष्णप्रसाद अधिकारी र सेयर सदस्य मनोज दाहाललाई सेयर सदस्यताबाट निष्कासन तथा कर्मचारी तेजबहादुर सुवेदीलाई समेत हटाउने निर्णय गरेपछि विवाद चर्किएको थियो ।
रजिस्ट्रार कार्यालयले पठाएको पत्रमा बिना कारण सेयर सदस्यता खारेज गरिएको, भ्रामक तथा तथ्यहीन समाचार सम्प्रेषणको आरोप लगाउँदै बदनियतपूर्वक कारबाही गरिएको भनी उजुरी परेको उल्लेख छ ।
पत्रमा भनिएको छ, ‘निजहरूलाई सेयर सदस्यताबाट हटाउँदा अपनाइएका प्रक्रिया, संस्थागत निर्णय र सोको औचित्य खुल्ने गरी प्रमाणसहित सात दिनभित्र कार्यालयमा जानकारी गराउनुहुन अनुरोध छ ।’
कामधेनुको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारी र दाहाललाई ‘भ्रामक र तथ्यहीन समाचार सम्प्रेषण गरेको’ आरोपमा सेयर सदस्यताबाट हटाउने निर्णय गरेको थियो ।
उक्त निर्णयप्रति आपत्ति जनाउँदै उनीहरूले मंसिर २४ गते प्रदेश सहकारी रजिस्ट्रार कार्यालयमा निवेदन समेत दिएका थिए । सोही निवेदनमाथि अध्ययन गरी कार्यालयले मंगलबार संस्थालाई जवाफ पेस गर्न निर्देशन दिएको हो ।
संस्थाका कर्मचारी प्रेम मिश्रको आत्महत्या प्रकरणसँग जोडेर दुबै पक्षमा आरोप प्रत्यारोपमा उत्रिएको थियो । मिश्रले बजार प्रमुख रञ्जित झा र बजार प्रतिनिधि शेरबहादुर खड्काको नाम उल्लेख गर्दै ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका थिए ।
घटनापछि संस्थाभित्र आन्तरिक तनाव बढेको बताइन्छ । पीडित परिवारले संस्थाबाट निरन्तर दबाब र मानसिक यातना दिइएकै कारण मिश्रले आत्महत्या गर्न बाध्य भएको दाबी गर्दै आएका छन् । मिश्रको निधनपछि समवेदना दिन झापा पुगेका अध्यक्ष ढकालसहितका कर्मचारीहरू स्थानीयको दुर्व्यवहारमा परेका थिए ।
फर्किने क्रममा मोरङको पथरी जङ्गल क्षेत्रमा अध्यक्ष ढकालले सबैको मोबाइल फोन नियन्त्रणमा लिई सोधपुछ तथा मानसिक यातना दिएको आरोपसमेत बाहिरिएको छ ।
कारबाहीमा परेका कृष्णप्रसाद अधिकारी, मनोज दाहाल र कर्मचारी तेजप्रसाद सुवेदीले गत बिहीबार पत्रकार सम्मेलन गरी संस्थाभित्र भएका अनियमितता र विकृति सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया