कोशीका मुख्यमन्त्री भन्छन्, ‘विपद् व्यवस्थापन देशकै ठूलो चुनौती’

बुधबार, ०७ जेठ २०८२

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देशमा विपद् व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको बताएका छन्। जलवायु परिवर्तनका प्रभाव र विकास निर्माणमा देखिएको लापरबाहीले विपद् न्यूनीकरण तथा व्यवस्थापनमा गम्भीर जोखिम उत्पन्न गराएको भन्दै उनले सबै सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन आग्रह गरे।

विराटनगरको जुटमिल खुला चौरमा आयोजित ‘कोशी प्रदेश विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन एकीकृत अभ्यास हातेमालो–७’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो धारणा व्यक्त गरेका हुन्। उक्त अभ्यास आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको आयोजनामा र पूर्वी पृतना हेडक्वाटर, इटहरीको व्यवस्थापनमा गरिएको हो।

May be an image of 4 people and fire

मुख्यमन्त्री कार्कीले स्थानीय तह, राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायहरूका लागि विपद् न्यूनीकरण कार्य सबैभन्दा जटिल र चुनौतीपूर्ण रहेको बताए। “विगत पाँचदेखि सात वर्षको अनुभवले देखाउँछ कि विपद् व्यवस्थापनको पहिलो प्राथमिकता जनताको जीउधनको सुरक्षा हुनुपर्छ,“ उनले भने, “राहत र उद्धार कार्य नागरिकले प्रत्यक्ष अनुभूत गर्न सक्ने ढंगले हुनुपर्छ।“

प्रदेश सरकारले नीति तथा कानुन निर्माणमार्फत नागरिकप्रतिको दायित्व पुरा गर्दै सचेतना कार्यक्रम, साधन–स्रोत व्यवस्थापन र प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको उनले बताए। साथै, आधुनिक उपकरण, तालीम प्राप्त सुरक्षा निकायहरू, र स्थानीय तहको सहकार्यमा झापाको अर्जुनधारा र मोरङको रङ्गेलीमा ‘कोशी प्रदेश विपद् व्यवस्थापन अतिआवश्यक केन्द्र’ निर्माणको कार्य सुरु गरिएको जानकारी पनि उनले दिए।

May be an image of 5 people and text

दुई दिने अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट र राष्ट्रसेवक कर्मचारीसहित ९० जनाको सक्रिय सहभागिता रहेको छ। अभ्यासमा भूकम्प र आगलागीजस्ता संभावित विपद्हरूको पूर्वतयारी र जोखिम न्यूनीकरणमा केन्द्रित गरिएको थियो।

मुख्यमन्त्री कार्कीले यस्ता अभ्यासहरू निरन्तर गरिँदै जाने बताए र सबै तहका सरकारी तथा गैरसरकारी निकायहरूलाई विपद् व्यवस्थापनमा समन्वयात्मक र प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे।

May be an image of 2 people and text

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार