मोरङको सुन्दरहरैंचामा ‘ढुकुर जोडी’ सम्मानका लागि उत्कृष्ट दम्पतीको खोजी सुरु

बुधबार, ०७ जेठ २०८२

विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिकाले समाजमा स्वस्थ पारिवारिक सम्बन्धलाई प्रोत्साहित गर्ने उद्देश्यले ‘ढुकुर जोडी’ सम्मान कार्यक्रम सुरु गरेको छ।

प्रेम र समर्पणको प्रतीक मानिने ढुकुरको नाममा नगरपालिकाले हरेक वडाबाट एक–एक उत्कृष्ट दम्पती छान्ने घोषणा गरेको हो।

नगरप्रमुख केदारप्रसाद गुरागाईंका अनुसार नगर क्षेत्रका १२ वटै वडाबाट छनोट गरिएका दम्पतीलाई नगद पुरस्कारसहित सार्वजनिक रुपमा सम्मान गरिनेछ। सम्मानित दम्पतीको तस्बिर वडा कार्यालयमा एक वर्षसम्म झुण्ड्याइनेछ।

उक्त सम्मान कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्दै प्रमुख गुरागाईंले भने,‘समाजमा राम्रो गर्नेहरूलाई प्रोत्साहन गरियो भने कमजोरी गर्नेहरूमा पनि चेतना आउँछ।’

छनोटका लागि १२ मापदण्ड

दम्पती छनोटका लागि नगरपालिकाले मापदण्ड निर्धारण गरेको छ, जसमा कम्तीमा १० वर्ष पुरानो वैवाहिक सम्बन्ध, संयुक्त परिवारमा बास, वैदेशिक रोजगारमा लामो समय बिताएको नहुने, र आपसी झगडाको कुनै कानुनी अभिलेख नरहेको हुनुपर्ने जस्ता शर्तहरू छन्।

यस कार्यक्रमका लागि बुधबारदेखि १० दिनभित्र निवेदन दिन सकिने जनाइएको छ। प्राप्त निवेदनहरू महिला तथा बालबालिका शाखाले अध्ययन गर्नेछ र उत्कृष्ट जोडीलाई नगदसहित प्रशंसापत्र प्रदान गरिनेछ।

dhukur jodi

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार