भिजिट भिसा प्रकरण कांग्रेसमा आन्तरिक विवाद चर्कियो, गृहमन्त्री लेखक राजीनामा दिन तयार

सोमबार, १२ जेठ २०८२
फाइल तस्बिर

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन शाखामा देखिएको भिजिट भिसा प्रकरणले नेपाली कांग्रेसभित्र गम्भीर विवाद निम्त्याएको छ। यो विषय गृहमन्त्री रमेश लेखकसँग जोडिएपछि कांग्रेस पदाधिकारी बैठकमा छलफलको केन्द्रमा रह्यो। विशेषतः नेता शेखर कोइरालाले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएपछि विवाद झन् चर्किएको हो।

गृहमन्त्री लेखकले सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकको सुरुमै आफू पार्टीले चाहे जुनसुकै बेला राजीनामा दिन तयार रहेको घोषणा गरे। उनले भने, “पार्टीलाई अप्ठ्यारो पार्ने काम मबाट हुन नदिन चाहन्छु। अहिल्यै निर्देशन आए पनि पालना गर्न तयार छु।” उनले आफूविरुद्ध कुनै आधार वा प्रमाण देखिएमा राजनीतिबाटै अलग हुने समेत उद्घोष गरे।

तर बैठकमा अधिकांश नेताहरूले गृहमन्त्री लेखकको राजीनामा माग सार्वजनिक रूपमा उठाउने नेता शेखर कोइरालाप्रति आक्रोश व्यक्त गरेका थिए। पूर्व महामन्त्री शशांक कोइरालाले आफ्नै दाजु शेखर कोइरालासहित सांसदहरू सुनिल शर्मा र राजेन्द्र बजगाईंलाई पार्टी अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टीकरण माग्नुपर्ने धारणा राखे।

उपसभापति पूर्णबहादुर खडकाले समेत अझै अख्तियारले सहसचिव तीर्थराज भट्टराईसँग बयान लिएको छैन, फरेन्सिक रिपोर्ट आएको छैन, र गृहमन्त्रीलाई जोड्ने कुनै ठोस आधार छैन भन्ने तर्क गर्दै राजीनामाको माग अनुचित भएको बताए। उनले पार्टीभित्र अनुशासनहीनता चुलिएको र यस्ता अभिव्यक्तिहरू पार्टी संचालनमा बाधक भएको टिप्पणी गरे।

सभापति शेरबहादुर देउवाले पनि बाहिर गएर एकथरी अभिव्यक्ति दिने र बैठकमा अर्कै कुरा गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै आवश्यक परे केन्द्रीय समिति बैठकमै छलफल गर्ने संकेत दिए। महामन्त्री गगन थापा, पूर्व उपसभापति विमलेन्द्र निधि लगायतले बिना प्रमाण राजीनामा माग्नु गलत भएको स्पष्ट पारे।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले लेखक मंगलबार संसदमा आरोपहरूको जवाफ दिने कार्यक्रम तय भएको जानकारी दिए। उनले पनि एक कर्मचारीको गल्तीका आधारमा मन्त्रीले जिम्मेवारी लिँदै जाने हो भने सबै मन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आउने चेतावनी दिए।

लेखकले त्रिभुवन विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीले पटक–पटक सरुवा मागेकाले तीर्थराज भट्टराईलाई पठाइएको स्पष्ट पार्दै, यो सरुवा प्रक्रिया सामान्य प्रशासनिक अभ्यास अनुरूप भएको बताए। उनले आफूविरुद्ध सुनियोजित ढंगले षड्यन्त्र गरिएको गुनासोसमेत गरे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार