विराटनगरको बरगाछीमा पनि प्रदर्शन, तीनपैनीको प्रहरी बिटमा आगजनी

मंगलबार, २४ भदौ २०८२

 

विराटनगर । विराटनगरको बरगाछीमा पनि प्रदर्शन सुरु भएको छ । जेनजी समूहले सरकारको विरोध गर्दै प्रदर्शन गरिरहेको हो । 

बरगाछीको उत्तर र दक्षिणतर्फको सडकमा टायर बालेर प्रदर्शन चर्काइएको छ । प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी गरिरहेका छन् । 

विराटगनरको देवकोटा चोक, बसापार्क, पुष्पलाल चोक, ट्राफिक चोक, महेन्द्र चोकलगायतका दर्जनौं स्थानमा प्रदर्शन जारी छ । ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन जारी राखिएपछि अवस्था तनावपूर्ण बनेको छ । 

प्रदर्शनकारीहरुले कोशी प्रदेशसभा अघि पनि प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारी प्रदेशसभा छिर्नै लागेका छन् । ठूलो संख्यामा परिचालन गरिएका सुरक्षाकर्मीले आन्दोलनकारीलाई रोक्ने प्रयास गरिरहेका छन् । 

तर, प्रहरीको घेरा तोडेर आन्दोलनकारी अघि बढिरहेका छन् । उनीहरु प्रदेशसभाको गेटमा पुगिसकेका छन् । प्रदेशसभा कब्जा गर्ने योजनासहित आन्दोलनकारी अघि बढेपछि नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई हम्मे परिरहेको छ । 

त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडपसमेत भएको छ । स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेका छन् । विराटनगरमा अहिले जताततै अवस्था तनावपूर्ण बनिरहेको छ । 

प्रदर्शनकारीले विराटनगरको तीनपैनीस्थित प्रहरी बिटमा पनि आगजनी गरेका छन् । आगजनी गरिएको समयमा बिटमा प्रहरी भने थिएनन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार