विराटनगर । जेनजी पुस्ताले चर्काएको आन्दोलनमा सहभागी भएका प्रदर्शनकारी अहिले केही बेरअघि कोशी प्रदेशसभा छिरेका छन् ।
ठूलो संख्यामा परेका प्रदर्शनकारी प्रदेशसभा छिरेका हुन् । करिब ३ घण्टादेखि आन्दोलनकारीलाई रोक्ने सुरक्षाकर्मीको प्रयास असफल भएको छ । यद्यपि, सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भने गरिरहेका छन् ।
पूर्व र पश्चिमतिरबाट सुरक्षाकर्मीलाई धकेल्दै अघि बढेका प्रदर्शनकारी प्रदेशसभा सचिवालयको गेट तोडफोड गर्दै भित्र छिरेका हुन् । प्रहरीले पूर्व र पश्चिममा ब्यारिकेट लगाएर आन्दोलनकारीलाई रोक्ने प्रयास गरेको थियो ।
तर, आन्दोलनकारीले ब्यारिकेट नै जलाइदिए । त्यसपछि प्रहरीसँग दोहोरो झडप सुरु भएको थियो । प्रहरीले अश्रुग्यास प्रहार र लाट्ठी चार्ज गर्दै प्रदर्शनकारीलाई रोक्न खोजे पनि सम्भव भएन ।
अहिले प्रदेशसभाभित्र छिरेर प्रदर्शनकारीले तोडफोड गरिहेका छन् । प्रदेशसभाको अवस्था तनावग्रस्त र असामान्य बनेको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन दजनौं सेल अश्रुग्यास प्रहार गरेको छ ।
प्रतिक्रिया