विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर सुरक्षा नियन्त्रणभन्दा बाहिर पुगेको छ । जेनजी समूहको आन्दोलनले विराटनगरको स्थिति नियन्त्रण बाहिर गएको हो ।
आन्दोलनकारीले प्रदेशसभा भवन, प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरुदेखि सरकारी कार्यालयमा खोजी–खोजी आगजनी गरेका छन् । मंगलबार दिउँसो सरकारी कार्यालय खोजी खोजी आगजनी गरेका हुन् । प्रदर्शनकारीको आन्दोलन उग्र भएपछि सुरक्षाकर्मी फिर्ता भएका छन् । सुरक्षाकर्मीले थेग्ने अवस्था नै भएन ।
सुरक्षाकर्मीपछि हटेका कारण बजारमा प्रदर्शनकारीले सरकारी कार्यालय खोजी–खोजी आगजनी गरिरहेका छन् । आगजनी गर्ने समूहले चोरी र लुटपाट पनि मच्चाइरहेको छ । जताततै आगजनी गरिएको छ । प्रदर्शनकारी विराटनगरस्थित कोइराला निवासमा पनि आगजनी गरेका छन् ।
आन्दोलनकारीले कोशी प्रदेशसभा भवनमा आगजनी गरेका छन् । कफ्र्यू उल्लंघन गर्दै प्रदेशसभा भवन प्रवेश गरेर आन्दोलनकारीले आगजनी गरेका हुन् । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि आगजनी भएको छ । आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय मोरङमा समेत आगजनी गरेका छन् ।
प्रशासन कार्यालयनजिकै रहेको हुलाक कार्यालयमा पनि आगजनी गरिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङको सरकारी निवासमा तोडफोड र सवारीमा आगजनी भएको छ । प्रदेश प्रमुखको कार्यालयमा पनि आगजनी गरिएको छ । विराटनगरमा रहेको आन्तरिक राजस्व कार्यालयमा पनि आगजनी भएको छ ।
जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरमा पनि आगजनी भएको छ । नेकपा (एमाले) मोरङको पार्टी कार्यालय पाञ्चालीमा पनि आगजानी गरेको समूहले सरकारी कार्यालय खोजेर आगजनी गरिरहेका छन् । आन्दोलनकारीले सरकारी कार्यालयमा आगजनी गर्दै कार्यालयमा रहेका सामान पनि उठाएर लगिरहेका छन् ।
विराटनगरको मेनरोड र कोशी राजमार्गको चोकचोकमा टायर बालेर प्रदर्शन भइरहेको छ । मोरङको रंगेली नगरपालिकाको कार्यालयमा पनि आगजनी गरिएको छ ।
प्रतिक्रिया