आकाङ्क्षा धामी
वर्षमा चारवटा दशैं पर्छन्–आषाढ शुक्ल, माघ शुक्ल, चैत्र शुक्ल र आश्विन शुक्ल। अहिले हामीले मनाउने ठूलो दशैं भनेको आश्विन शुक्लको बडादशैं हो।
काठमाडौं: हिन्दू धर्मावलम्बीहरूको लागि अत्यन्त महत्वको पर्व विजया दशमी, प्रचलित रूपमा बडा दशैं, शक्ति, सत्य र सांस्कृतिक एकताको प्रतीकका रूपमा बर्सेनि विशेष श्रद्धा र उल्लासका साथ मनाइन्छ।
गुरु रवीन्द्र आचार्यका अनुसार, विजया दशमी केवल धार्मिक पर्व मात्र नभई, देवी शक्तिको आराधना, सत्यको विजय र सामाजिक सद्भावको उत्सव हो।
शक्तिको आराधना: नौ दिनको नवरात्रि
वेद शास्त्रअनुसार, वर्षमा चारवटा नवरात्रिहरू हुन्छन्, जसमा विशेष रूपमा वसन्त नवरात्रि र शारदीय नवरात्रिलाई महत्त्व दिइएको छ। शारदीय नवरात्रि अन्तर्गत मनाइने बडादशैंमा नवदुर्गाको नौ दिनसम्म पूजा आराधना गरिन्छ। घटस्थापनाबाट सुरु हुने यस अनुष्ठानमा, हरेक दिन पृथक् दुर्गा स्वरूपको पूजा गरी दशौँ दिनमा विजया दशमीको रूपमा समापन गरिन्छ।
वेदगुरु रवीन्द्र आचार्यका अनुसार, देवी दुर्गाले नवौँ दिनसम्म महिषासुरलगायत आसुरी शक्तिहरूसँग युद्ध गरी दशौँ दिनमा उनीहरूको संहार गर्नुभयो। त्यसैको स्मरणमा यो दिनलाई ‘विजया दशमी’ भनिएको हो।
दशमी: सत्यको विजय र टीका–जमरा ग्रहण
विजया दशमीको दिन, असत्यमाथि सत्यको विजय भएको विश्वासका साथ आफ्ना मान्यजनहरूसँग टीका र जमरा ग्रहण गर्ने चलन छ। पूजामा प्रयोग गरिएको जमरा—जसलाई घटस्थापनाका दिन रोपिएको जौबाट उमारिन्छ—देवीको प्रसादको रूपमा मानिन्छ।
‘जमरा प्रकृति र कृषिसँग प्रत्यक्ष सम्बन्धित छ,’ वेदगुरु आचार्य भन्छन्। ‘जौलाई भगवान् भोलेनाथको प्रतीक मानिन्छ र यसलाई घरमा पवित्र, गुप्त स्थानमा राखिन्छ। त्यसैले जमरा ग्रहण गर्नु भनेको भगवतीको प्रत्यक्ष कृपा प्राप्त गर्नु हो।’
टीका र जमराले जीवनमा आरोग्यता, समृद्धि, विद्या र यशको कामना गर्दै समाजमा सम्मान र एकताको सन्देश फैलाउँछ। पितामातादेखि अग्रज, गुरुजन र वृद्ध सदस्यहरूसम्मको आशीर्वाद ग्रहण गर्ने यो अनौठो अवसर हो। राजा वा राष्ट्रप्रमुखले विशेष साइत अनुसार टीका ग्रहण गर्छन् भने सर्वसाधारण दिनभरि जुनसुकै समयमा टीका लगाउन सक्छन्।
देवी–देवताहरूको संयुक्त उपासना
विजया दशमीको पूजामा शिव–शक्तिको संयुक्त आराधना गरिन्छ। ‘जहाँ शिव छन्, त्यहाँ शिवा पनि हुनुहुन्छ,’ वेदगुरु भन्छन्। ‘शिवा पराअम्बा, भुवनेश्वरी, दुर्गा, शैलपुत्री लगायतका नौ दुर्गा स्वरूपमा पूजनीय हुनुहुन्छ।’ यही कारण, नौ दिनसम्म पृथक्–पृथक् दुर्गा स्वरूपको पूजा गरी दशौँ दिनमा महाप्रसाद ग्रहण गरिन्छ।
कृषि संस्कृतिसँग जोडिएको पर्व
दशैं केवल धार्मिक पर्व नभई कृषिसँग पनि गहिरो सम्बन्ध राख्दछ। जौ रोपण, जमरा उमार्ने, अन्नको संरक्षण र देवी–देवताबाट कृपा प्रार्थना गर्ने परम्परा यस पर्वमा समेटिएको हुन्छ। ‘हाम्रो देश कृषि प्रधान छ। दशैं पर्वले कृषिलाई पनि सम्मान गर्छ,’ वेदगुरुले थपे।
विजया दशमी केवल असुरमाथि विजयको उत्सव मात्र होइन, सत्य, सदाचार, सद्भाव र एकताको सन्देश दिने हिन्दू धर्मको महान् पर्व हो।
यस दिन शक्ति स्वरूपा भगवतीको आराधना गर्दै मान्यजनबाट टीका–जमरा ग्रहण गरी आत्मबल, सद्बुद्धि र सकारात्मक ऊर्जाको सञ्चार गर्ने परम्परा निरन्तरता दिइएको छ।
गुरु नारायण प्रसाद आचार्यका अनुसार, दशैं घर–आँगनमा रमाइलोसँग आइपुग्छ। पहिले बाटो सफा गर्ने, मिलमा चिउरा कुट्न जाने र साथीभाइसँग रमाइलो गर्ने चलन हुन्थ्यो। हाल परिवेश फरक भए पनि बजार र समाजमा उस्तै उल्लास कायम हुन्छ।
उनका अनुसार दशैं नवदुर्गा भगवतीको आराधनाको क्रम हो। वर्षमा चारवटा दशैं भए पनि अहिले मनाइने मुख्य दशैं आश्विन शुक्लको बडादशैं हो। चैत्र र असोज महिनामा दुर्गा आराधना बढी हुने र रोग, दुर्घटना जस्ता सङ्कट टार्ने विश्वासले देवीको पूजा गरिन्छ।
नवरात्र पूरा भएपछि दशौँ दिन पूर्ण मानिन्छ। जब भगवान् रामले रावणलाई हराउन भगवतीको आराधना गर्नुभयो, नवौँ दिनमा देवी प्रकट भई शक्ति दिनुभयो र त्यसपछि विजय प्राप्त भयो। यही कारण दशमीलाई ‘विजया दशमी’ भनिएको हो।
गुरु आचार्यका अनुसार, दशैं केवल पूजा मात्र नभई परिवारसँगको मिलन, समाजमा खुसी बाँड्ने अवसर र असत्यमाथि सत्यको विजयको प्रतीक हो।
प्रतिक्रिया