विराटनगर । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १७ देखि २० गतेसम्म सुनसरीमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। यसै क्रममा सुनसरी जिल्ला प्रशासन कार्यालयले बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जनतालाई सतर्क रहन सार्वजनिक सूचना जारी गरेको छ।
प्रशासनले जारी गरेको सूचनामा कोशी नदीसहित जिल्लाका अन्य साना–ठूला नदीहरूमा पानीको बहाव बढ्ने र खतरा तह आसपास पुग्न सक्ने उल्लेख गर्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। कोशी तटीय क्षेत्र र जोखिममा रहेका वडाहरूमा बाढीको उच्च सम्भावना रहेको जनाइएको छ।
सूचनामा प्रमुख बुँदाहरू यसप्रकार उल्लेख छन्: असोज १७ देखि २० गतेसम्म रात्रीकालीन सार्वजनिक सवारी साधन सञ्चालन नगर्न, अत्यावश्यक नभएको खण्डमा जोखिमपूर्ण यात्रा नगर्न र रातको समयमा यात्रा नगर्न, बाढी प्रभावित तथा जोखिममा रहेका स्थानमा नयाँ संरचना निर्माण नगर्न, तथा जोखिमयुक्त सडकखण्डमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न प्रशासनले आग्रह गरेको छ।

सुनसरी प्रशासनले स्थानीय तह, सुरक्षा निकाय तथा विपद् व्यवस्थापन समितिलाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर सहित जारी सूचनामा जिल्लाबासीलाई बाढी र वर्षासँग सम्बन्धित सम्भावित विपद्बाट सुरक्षित रहन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
प्रतिक्रिया