काठमाडौँ : सरकारले हालका बाढीपहिरो घटनामा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई तत्काल राहत उपलब्ध गराउने र घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठकले मृतकका परिवारलाई मापदण्डअनुसार राहत उपलब्ध गराउने तथा घाइतेहरूको उपचार खर्च राज्यले व्यहोर्ने निर्णय गरेको हो।
बैठकले स्थानीय तहसँग समन्वय गरेर राहत वितरण र उपचार व्यवस्थापनका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक निर्देशन दिने निर्णय गरेको छ।
‘स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई मापदण्डबमोजिम तत्काल राहत उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने,’ बैठकको निर्णयमा उल्लेख छ।
त्यस्तै, विपद् प्रभावित व्यक्ति तथा परिवारका राहत, स्थानान्तरण र पुनर्स्थापनासम्बन्धी कार्य शीघ्र सम्पन्न गर्न स्थानीय तह र सरोकारवाला निकायलाई पनि बैठकले अनुरोध गरेको छ।
गत शुक्रवारदेखि विभिन्न स्थानमा परेको अविरल वर्षा र त्यसबाट भएका बाढी–पहिरोका घटनाप्रति बैठकले गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
प्रतिक्रिया