मलेसियामा अवैधानिक कामदारको जीवन ! भाग्दाभाग्दै २३ पक्राउ

विहीबार, २० कार्तिक २०८२

काठमाडौँ : मलेसियाले अवैधानिक रूपमा बसेका नेपालीसहित आप्रवासी कामदारमाथि धडपकड तीव्र पारेसँगै लुकिछिपी बस्ने कामदारहरूको भागाभाग भएको छ। त्यहाँको नेगेरी सेम्बिलन अध्यागमन विभागले बन्दर बारु निलाईस्थित एक अपार्टमेन्टमा गरेको कारबाहीमा विभिन्न अध्यागमन कानुन उल्लङ्घनका आरोपमा २३ जना अवैध आप्रवासीलाई पक्राउ गरेको छ।

अध्यागमन विभागका निर्देशक केनिथ तान ऐ कियाङका अनुसार पक्राउ पर्नेमा १२ जना बङ्गलादेशी नागरिक, दुई महिला सहित ७ जना भारतीय, एक जना इन्डोनेसियाली र ५१ वर्षीय एक पाकिस्तानी नागरिक रहेका छन्।

निर्देशक कियाङका अनुसार राति ११ बजेदेखि सुरु भएको करिब चार घण्टासम्मको अपरेसनमा २९९ जना विदेशीको जाँच गरिएको थियो। धेरै विदेशीहरूसँग वैध पास र परिचयपत्र नभएकोबारे प्राप्त गुनासोका आधारमा कारबाही गरिएको बताइएको छ।

अपरेसनको क्रममा अपार्टमेन्टको पाँचौँ तल्लामा रहेका केही विदेशीहरू पक्राउबाट बच्न बाल्कनी हुँदै अर्को घरमा भाग्ने प्रयासमा ज्यान जोखिममा पारेका थिए। यसका साथै, टायल गरिएको छानामुनि र पानीको ट्याङ्कीभित्र लुकेका केही व्यक्तिहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेकाहरूलाई अनुसन्धान र थप कारबाहीका लागि लेन्गेङ अध्यागमन डिपोमा राखिएको छ।

उनीहरूलाई वैध पास र यात्रा कागजात नभएको, भिसा अवधि समाप्त भएपछि पनि बसिरहेको (ओभरस्टे) तथा अध्यागमन ऐन १९५९/६३, राहदानी ऐन १९६६ र अध्यागमन नियमावली १९६३ का प्रावधानहरू उल्लङ्घन गरेको आरोप लगाइएको छ।

विभागले देशमा अवैधानिक आप्रवासीहरूको प्रवेश र बसोबास रोक्न नागरिकहरूलाई उजुरी दर्ता गर्न आग्रह गरेको छ। साथै, अवैध आप्रवासीलाई रोजगारी दिने वा सुरक्षा प्रदान गर्ने कुनै पनि रोजगारदाता वा व्यक्ति विरुद्ध कडा कारबाही गरिने चेतावनी दिएको छ।

हाल मलेसियामा सयौँ अवैधानिक नेपाली कामदार पक्राउ परेका छन्। त्यहाँका विभिन्न जेलमा १६४ जना नेपाली विभिन्न मुद्दामा कैद जीवन बिताइरहेका छन्।

मलेसिया पुगेपछि भिसा लागेको कम्पनी छाड्ने, अवैध बसोबास गर्ने तथा अन्य व्यवहारजन्य कारणले नेपालीहरू पक्राउ पर्ने गरेका छन्। मलेसियामा हाल करिब पाँच लाखको हाराहारीमा नेपाली कामदार कार्यरत छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार