पुरानै अनुहारमा नयाँ नेकपा

विहीबार, २० कार्तिक २०८२

काठमाडौँ : नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित १० वटा साना वाम दलबिच बुधबार पार्टी एकता घोषणा भएको छ । नयाँ दलको नाम “नेपाली कम्युनिस्ट पार्टी (नेकपा)” राखिएको छ ।

एकता सम्मेलनलाई सम्बोधन गर्दै संयोजक **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले पछिल्लो जेनजी आन्दोलनले आफूहरूलाई सच्चिने अवसर दिएको बताए । सोही आन्दोलनका कारण पार्टी एकता सम्भव भएको उल्लेख गर्दै उनले भने, ‘जेनजी आन्दोलनले हामीलाई राम्रैसँग घोच्यो । हाम्रा कमजोरी उजागर गरिदियो ।’

तर, प्रचण्डले सच्चिने अवसरको कुरा गरे पनि एकतापछि बनेको पार्टी नेतृत्वमा पुरानै अनुहार दोहोरिएका छन् । तीन पूर्वप्रधानमन्त्रीहरू क्रमशः पहिलो, दोस्रो र तेस्रो वरीयतामा छन् — प्रचण्ड संयोजक, माधवकुमार नेपाल सह–संयोजक, र अन्तिममा झलनाथ खनाल तेस्रो वरीयतामा छन् ।

उनीहरू पछि वामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहेका छन् । नेतृत्व संरचनाले २०७५ जेठ ३ मा एमाले–माओवादीबिच भएको एकताको सचिवालयको झल्को दिएको छ । तत्कालीन नेकपाको नौ सदस्यीय सचिवालयमध्ये पाँच नेता पुनः एउटै पार्टीमा आएका छन् ।

जेनजी आन्दोलनपछि विघटित प्रतिनिधिसभाका प्रमुख दलहरूमा नेतृत्व परिवर्तनको दबाब बढेको थियो । माओवादी केन्द्रले मङ्सिरमा विशेष महाधिवेशन तोकेको थियो भने एकीकृत समाजवादीमा पनि अध्यक्ष नेपालमाथि दुई कारणले दबाब थियो — जेनजी आन्दोलनको मर्म अनुसार नेतृत्व हस्तान्तरण गर्ने माग, र पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दा। यसबिचमा प्रचण्ड–नेपालले पार्टी एकता गरेर तत्कालका लागि नेतृत्व सङ्कट टारेको आरोप लागेको छ ।

संयोजक प्रचण्डले भने उक्त आरोपको खण्डन गरे । उनले भने, ‘हामी यही पदमा बसिराख्नुपर्छ भन्ने छैन भनेर माधवजीसँग कुरा गरेका छौँ । विचार निर्माण गर्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्छौँ ।’

पार्टी नेतृत्व अनुमोदनका क्रममा ताली बज्दा प्रचण्ड हर्षित देखिए । उनले भने, ‘तपाईँहरूले अनुमोदन गर्नुभएको संयोजक र सह–संयोजक मामुली होइनन् । इतिहासमा ठुलो भूमिका खेलेका पात्र हौँ हामी । अब यो पार्टीलाई एक नम्बर बन्न कसैले रोक्न सक्दैन । कसैलाई टाउको दुख्न सक्छ, कसैलाई निन्द्रा पनि नलाग्न सक्छ, तर निन्द्रा नलागे नलागोस् ।’

सह–संयोजक नेपालले विचार र सिद्धान्त मिल्नेहरूसँग एकताको पहल गर्ने तथा राष्ट्रवादी शक्तिसँग पनि मोर्चाबन्दी गर्ने बताए । उनले भने, ‘सकारात्मक सोच राखेर कसैप्रति पूर्वाग्रह नराखी एकीकृत गर्दै जान्छौँ । तर विदेशी हितका पक्षधर र गणतन्त्र विरोधीलाई भने पार्टीमा स्थान दिइने छैन ।’

तेस्रो वरीयताका नेता खनालले भने‘प्रचण्डसँग केही कुरामा फरक मत भए पनि देशलाई एकताबद्ध राख्न वामपन्थीबिच एकता आवश्यक ठानेर आएको हुँ,’ भने । उनी अन्तिम क्षणमा मात्र एकतामा सहभागी भएका थिए । उनले आफ्नै पार्टी अध्यक्ष नेपाललाई भने बेवास्ता गरे । अर्का नेता वामदेव गौतमले नेकपालाई १ करोड सदस्य भएको पार्टी बनाउन सकिने दाबी गरे ।

जेनजी विद्रोहको सन्देशसहित घोषणा गरिएको भनिए पनि नयाँ पार्टीका प्रतिबद्धता भने पुरानै छन् — उत्पादन र श्रममा संलग्नता, कम्युनिस्ट अनुशासन, सादा जीवनशैली, पारदर्शी कार्यशैली, आन्तरिक लोकतन्त्र सुदृढीकरण, र नेतृत्व हस्तान्तरणको वैज्ञानिक प्रणाली विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै जेनजी पुस्ताका आकाङ्क्षा सम्बोधन, आत्मनिर्भर अर्थतन्त्र, रोजगारी सिर्जना र गरिबी अन्त्यमा विशेष पहल गर्ने भनिएको छ ।

सामाजिक सञ्जालमा वाम एकताप्रति मिश्रित प्रतिक्रिया आएको छ । जनयुद्धकालीन नेता लेखनाथ न्यौपानेले नेतृत्वमा नयाँ अनुहार नदेखिएको भन्दै व्यङ्ग्य गरे — ‘पिँध नभएका लोटा, अनुहार कुच्चिएका, पानीका लौरा, पिङ खेल्दा थाकेका, गन्हाएका नाम मञ्चमा । सबै दानेगाईजस्ता, फुकाएपछि आ–आफ्नै बाटो लाग्ने । फागुन २१ सम्म रहे ठुलो कुरो ।’

जो एकताबाट छुटे

घोषित १० दलीय एकता मुख्यतः माओवादी केन्द्र र एकीकृत समाजवादीबिचको हो । तर दुवै दलका केही प्रभावशाली नेता एकतामा सामेल भएनन् ।

  • माओवादीका पूर्व उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ र पूर्वसचिव राम कार्कीले सहभागिता जनाएनन् र ‘प्रगतिशील अभियान’ घोषणा गरे । यससँगै प्रचण्ड र प्रभाकरबीचको ४० वर्ष लामो सहयात्रा अन्त्य भयो ।

  • एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, घनेन्द्र बस्नेत, र जीवनराम श्रेष्ठ पनि एकतामा सहभागी भएनन् । उनीहरू मङ्सिर पहिलो साता पार्टी पुनर्गठनको तयारीमा छन् ।

  • भुसालले भने, ‘प्रचण्ड, माधव वा केपी ओलीले छाड्ने सुनिश्चितता नभएसम्म नयाँ पार्टी बन्न सक्दैन,’ भन्दै सहभागिता अस्वीकार गरे ।

  • नेतृ रामकुमारी झाँक्रीले पनि असन्तुष्टि जनाउँदै एमालेमै फर्किने घोषणा गरिन् र अन्य कार्यकर्तालाई समेत फर्किन आह्वान गरिन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अन्ततः एकताकै पक्षमा उभिए, तर असन्तुष्ट भुसाल र झाँक्री समूहले उनको साथ नदिँदा उनी एक्लिएका देखिए । अन्ततः उनले युटर्न लिएर सम्मेलनस्थल पुगे र एकता समर्थन गरे ।

 

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार