धरान : भारतको बिहारमा आसन्न विधानसभा निर्वाचन नजिकिँदै गर्दा नेपाल–भारत सीमावर्ती क्षेत्र सुनसरीमा सुरक्षा सतर्कता कडाइ गरिएको छ।
बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अररिया जिल्लाको फारबिसगन्जमा हुने चुनावी सभालाई सम्बोधन गर्न आउने कार्यक्रमअनुसार दुवै देशका सुरक्षा निकाय उच्च सतर्क बनेका छन्।
सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार, मोदीको आगमनलाई लक्षित गर्दै अमडुवा, भुटाहा, लौकही, हरिनगर र भन्टाबारीलगायत सिमाना क्षेत्रमा प्रहरीको गस्ती थप सतर्कताका साथ गरिएको छ।
अवैध आवागमन हुन सक्ने साना र गोप्य मार्गहरूमा समेत कडा निगरानी राखिएको उनले बताए।
स्थानीय प्रशासनले सीमावर्ती बासिन्दालाई आवश्यक कारणबाहेक भारततर्फ नजान आग्रह गरेको छ।
यसैगरी भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पनि सीमा क्षेत्रमा निरन्तर गस्ती गर्दै सम्भावित अवैध गतिविधि रोकथाममा सक्रिय भूमिका खेलेको छ।
खुला सीमाका कारण प्रत्येक निर्वाचन अवधिमा नेपाल–भारत दुवै देशका सुरक्षा टोलीले सहकार्य र समन्वय गर्दै आएका छन्। यसपटक प्रधानमन्त्री मोदी स्वयं सीमासम्म आउने भएकाले सुरक्षा व्यवस्थालाई विशेष संवेदनशीलताका साथ थप कडाइ गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया