काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई हाहाहुहुमा बनेको आरोप लगाएका थिए ।
असोज २३ गते भक्तपुरको गुन्डुस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा ओलीले भनेका थिए, ‘अस्ति एउटा सडक तामासा गर्नुभयो। पासपोर्ट रोक्का गर्ने तामासा। सुशीला कार्कीको डरले ओली गुटुङटुङ भाग्छ भन्ने लागेको होला ? यो हाहाहुहुमा बनेको सरकारसँग डराएर केपी ओलीले देश छोड्छ ?’
सरकारले आफ्नो पासपोर्ट रोकिएको र काठमाडौं उपत्यका छाड्नुपरे सरकारको अनुमति लिनुपर्ने विषयमा ओलीको आक्रोश थियो ।
तर, ओलीले हाहाहुहुमा बनेको भनेर आरोप लगाएको सरकार उनकै सिफारिसमा गठन भएको नेपका माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको दाबी छ।
प्रचण्डले सुशीला कार्की नेतृत्वको सरकार निवर्तमान प्रधानमन्त्री केपी ओलीकै लिखित सिफारिसमा बनेको बताएका छन् ।
शुक्रबार सम्पादकहरूसँगको संवादमा प्रचण्डले आफ्नै सिफरिसमा बनेको सरकारलाई अहिले ओलीले ‘हहा–हुहुमा बनेको’ भन्दै खिसीटिउरी गर्न नमिल्ने जिकीर गरे ।
‘सुशीला कार्की तत्कालीन प्रधानमन्त्री केपी ओलीको लिखित सिफारिसमा प्रधानमन्त्री बन्नुभएको हो, हामी त साक्षी मात्र हौँ,’प्रचण्डले भने, ‘आफैँले सिफारिस गरेर बनाएको सरकारलाई अहिले ‘हाहा–हुहु’मा बनेको भन्दै हुनुहुन्छ । कम्तीमा ओलीले त्यस्तो भन्न मिल्दैन । बरु, हामी साक्षीले मिल्ला ।’
जेनजी आन्दोलनपछि भदौ २७ गते राष्ट्रपतिले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दा पनि ‘प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा’ गरेको स्पष्ट पारेका छन् ।
राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले मुलुकमा उत्पन्न विषम तथा असाधरण परिस्थितिलाई सम्बोधन गर्दै युवा पुस्ताद्वारा प्रकट गरिएको इच्छा र आकङ्क्षा अनुसार राजनीतिक दल तथा सरोकारवालाहरू सँगको परामर्शसमेतका आधारमा नेपालको संविधान बमोजिम राष्ट्रपतिका अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी नेपालको संविधानको पालना र संरक्षण एवम् नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकोले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिवन्धात्मक व्यवस्था बमोजिम ६ (छ) महिनाभित्र प्रतिनिधि सभाको अर्को निर्वाचन सम्पन्न गर्ने गरी श्री सुशिला कार्की, मोरङलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ ।’

प्रतिक्रिया