सडकमा धाँजा फाटेपछि मेची राजमार्गको राजदुवाली खण्ड सञ्चालन गर्न कठिनाइ

आइतबार, २६ असोज २०८२

पाँचथर । मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली खण्ड पुनः भासिएको छ । शनिवार साँझसम्म सडक मर्मत गरी आइतबारदेखि यातायात सञ्चालन गर्ने तयारी भइरहे पनि विहान पख सडकमा पुनः धाँजा फाटेपछि सो खण्डमा सवारी आवागमन पुनः अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास जारी राखिए पनि सतहमा चिरा पर्ने, धाँजा फाट्ने र नजिकैको नजिम क्षेत्रबाट लेदोमिश्रित पानी निस्किरहने समस्याले राजदुवाली खण्ड स्थिर बन्न नसकेको हो । उनका अनुसार पाँचथर, इलाम र माइखोला जोड्ने जोरकलशसम्मका दर्जनौँ पहिरो हटाए पनि भौगोलिक जटिलता र लगातारको वर्षाका कारण सडक स्थायित्वमा चुनौती थपिएको छ ।

भट्टराईले भने, “हामीले धेरै ठाउँमा पहिरो पन्छाएर बाटो खुलाउने काम गरेका छौं, तर राजदुवाली खण्डमा माटो भासिने र धाँजा फाट्ने समस्या बारम्बार दोहोरिँदै आएको छ, जसले सवारी सञ्चालन जोखिमपूर्ण बनेको छ ।”

मेची राजमार्गको यो खण्ड असोज १८ गतेदेखि पूर्ण रूपमा बन्द रहेको छ । सोही खण्डमा निरन्तर समस्या देखिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ शनिबार स्थल निरीक्षणका लागि पुगेका थिए । उनले राजदुवाली खण्डलाई दीर्घकालीन रूपमा सुरक्षित र स्थिर बनाउन स्थायी समाधान खोज्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।

राजदुवाली क्षेत्रमा सडक भासिँदा स्थानीय बासिन्दा र यात्रुहरू दुबै पक्षले ठूलो कठिनाइ व्यहोर्नु परेको छ । इलाम र पाँचथर जोड्ने यो राजमार्ग पूर्व–पश्चिम यातायातका लागि अत्यावश्यक खण्ड भएकाले तत्काल प्रभावकारी पुनर्निर्माणको माग तीव्र बनेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार