विराटनगर । तिहार नजिकिँदै जाँदा भारततर्फबाट अवैध रूपमा पटका नेपाल भित्र्याउने क्रम तीव्र बनेको छ । झापा, मोरङ र सुनसरीका बजारहरूमा अवैध रूपमा ल्याइएका पटकाजन्य वस्तुहरू फेला परेसँगै प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको छ ।
नेपालमा उत्पादन र बिक्री वितरण निषेधित पटका प्रत्येक वर्ष भारततर्फबाट चोरी तस्करीका माध्यममार्फत भित्र्याइने गरिन्छ । यस वर्ष पनि तिहार नजिकिँदै गर्दा त्यस्ता विस्फोटक सामग्री सीमा क्षेत्र हुँदै बजार र ग्रामीण बस्तीसम्म पुग्न थालेका छन् । नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई छल्दै ल्याइएका पटका प्रहरीले विभिन्न स्थानमा नियन्त्रणमा लिन थालेको छ । पटका बरामद हुन थाल्नुले पूर्वी क्षेत्रमा पटकाको अवैध व्यापार बढ्दो क्रममा रहेको स्पष्ट सङ्केत गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार झापाको भद्रपुर नगरपालिका–५ बाट शनिवार करिब चार लाख रुपैयाँ मूल्यका विभिन्न प्रकारका पटका, झिलिमिली बल्ब र बत्ती बरामद गरिएको छ । त्यस्तै, सुनसरीको देवानगञ्ज गाउँपालिका–४ बाट पनि झन्डै त्रिहत्तर हजार रुपैयाँभन्दा बढी मूल्यका पटका प्रहरीले फेला पारेको छ ।
उनका अनुसार चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएकाले सीमा नाकामा सघन चेकजाँच भइरहेको छ । ‘‘सीमा क्षेत्र हुँदै पटकाजन्य विस्फोटक पदार्थ भित्र्याउने प्रयास बढेको छ । त्यसैले प्रहरीको गस्ती, मोबाइल प्वाइन्ट र सूचनाको आधारमा निगरानी कडा पारेका छौँ,’ एसएसपी पोखरेलले भने ।
प्रहरीका अनुसार यस्ता विस्फोटक पदार्थका कारण तिहारमा आगलागी, दृष्टि गुमाउने, अङ्गभङ्ग हुने र ज्यानै जानेसम्मका घटना हुने गरेका छन् । त्यसैले प्रहरीले नागरिकलाई पटका नपड्काउन र त्यस्ता वस्तु नकिन्न आग्रह गर्दै जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको छ ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार विस्फोटक प्रकृतिका यी वस्तुहरूले मानवीय क्षति र सम्पत्तिको विनाशसहित वायु प्रदूषण र ध्वनीप्रदूषण समेत अत्यधिक बढाउँछन् । ‘‘पटकाको प्रयोग रमाइलो होइन, जोखिमपूर्ण हो । आगलागी र दुर्घटनाको सम्भावना बढाउँछ, त्यसैले यसलाई पूर्ण प्रतिबन्धित गर्नुपर्ने आवश्यकता छ,’ डीआईजी कार्कीले भने ।
उनले सीमावर्ती जिल्लाहरूमा प्रहरीले कडाइ गरिरहेको र नियन्त्रणका लागि सुरक्षाकर्मीबिच समन्वय भइरहेको जानकारी दिए । ‘‘प्रहरीले चाडपर्वलाई सुरक्षित बनाउन सीमा क्षेत्रदेखि बजारसम्म निगरानी कडा बनाएको छ । कुनै पनि व्यक्ति वा समूहले पटका भित्र्याउने, बिक्री गर्ने वा पड्काउने कार्य गरे कानुनी कारबाही हुनेछ,’ कार्कीले चेतावनी दिए ।
प्रहरीका अनुसार नेपालमा हरेक वर्ष तिहार अवधिमा पटका किनमेलका कारण लाखौँ रुपैयाँ भारततर्फ जाने गरेको छ । ‘‘पटकामा खर्च हुने रकम यदि घरपरिवारको उपयोगी प्रयोजन वा बालबालिकाको शिक्षामा लगानी गर्न सकियो भने त्यो नै वास्तविक उज्यालो हुनेछ,’ डीआईजी कार्कीले थपे ।
प्रहरीले तिहारलाई सुरक्षित, सभ्य र प्रदूषणमुक्त बनाउने उद्देश्यसहित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको छ । ‘‘विस्फोटक होइन, उज्यालोको पर्व’का रूपमा तिहारलाई मनाउन प्रहरीको आग्रह छ ।
प्रतिक्रिया