प्रचण्डलाई युवा संघ नेता निरोज पौडेलको सुझाव-एमालेलाई होइन, आफ्नो पार्टी र नेतृत्व सुधार्नुहोस्

विहीबार, ३० असोज २०८२

काठमाडौं। राष्ट्रिय युवा संघका प्रवक्ता निरोज पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफ्नो दल र आफ्नो नेतृत्वलाई सुधार गर्न सुझाव दिएका छन्।

बुधाबर प्रचण्डले एमालेको नेतृत्वबाट केपी ओली हटे एमालेलगायका दलसँग वृहत्तर कम्युनिष्ट एकता गर्न सकिने बताएको भोलिपल्ट युवा संघका प्रवक्ता पौडेलले प्रचण्डलाई युक्त सुझाव दिएका हुन्।

उनले सामाजिक संजाल फेसबुकमार्फत प्रचण्डलाई प्रचण्डको, व्यक्तिगत स्वार्थ र सत्ताकालीन अस्थिरताबाट जनताले पीडा भोगिरहेको उल्लेख गर्दै माओवादी आन्दोलनका नाममा उठेको आदर्श आज दिशाहीन बनेको , जहाँ सिद्धान्तभन्दा पनि सत्ता, पद र व्यक्तिगत हितले अग्रता पाएको र त्यसको परिणाम आज देशमा देखिँदो निराशा, असन्तोष र संस्थागत असफलताका रूपमा देखिएको दाबी गरेका छन्।

उनले एमाले के हो, कसरी सञ्चालन हुन्छ र कसले नेतृत्व गर्छ भन्ने विषयमा चिन्ता नलिन भन्दै पौडेलले एमालेका कार्यकर्ता, समर्थक र देशप्रेमी जनताले पार्टीलाई कसरी सुदृढ पार्ने भन्ने निर्णय आफैं गर्ने र आफूहरुलाई कसैले निर्देशन दिनु वा नियन्त्रण गर्न खोज्नु राजनीतिक मर्यादाको उल्लंघन मात्र होइन, लोकतान्त्रिक संस्कृतिमाथिको अतिक्रमण भएको बताएका छन्।

पाैडेलले सामाजिक संजाल फेसबुकमा लेखेका छन्-

सर्वप्रथम, नेपालको लोकतान्त्रिक आन्दोलन, परिवर्तन र गणतन्त्र स्थापनाका क्रममा तात्कालीन ८ दलसहित तपाईंले पनि पुर्‍याउनुभएको योगदानको हामी सम्मान नै गर्छौँ। तर, आज देशको राजनीतिक परिदृश्य, व्यवस्थापकीय अस्तव्यस्तता र अराजकता अवस्थाको जिम्मेवारीबाट तपाईं पन्छिन सक्नुहुन्न भन्ने कुरो पनि त्यत्तिकै स्पष्ट छ।किन भने यो आगजनी र लुटपाट तोडपोडको प्रमुख योजनाकार मध्य तपाइ एक हो।

आजको नेपाली जनताले तपाइ जस्तै पात्र, व्यक्तिगत स्वार्थ र सत्ताकालीन अस्थिरताबाट पर्याप्त पीडा भोगिरहेका छन्। माओवादी आन्दोलनका नाममा उठेको आदर्श आज दिशाहीन बनेको छ, जहाँ सिद्धान्तभन्दा पनि सत्ता, पद र व्यक्तिगत हितले अग्रता पाएको छ। त्यसको परिणाम आज देशमा देखिँदो निराशा, असन्तोष र संस्थागत असफलताका रूपमा देखिएको छ।

एमाले के हो, कसरी सञ्चालन हुन्छ र कसले नेतृत्व गर्छ भन्ने विषयमा तपाईंले चिन्ता लिनुपर्ने कुनै नैतिक वा राजनीतिक आधार छैन। एमालेका कार्यकर्ता, समर्थक र देशप्रेमी जनताले पार्टीलाई कसरी सुदृढ पार्ने भन्ने निर्णय आफैं गर्छन् र गर्न सक्षम छन्। हामीलाई कसैले निर्देशन दिनु वा नियन्त्रण गर्न खोज्नु राजनीतिक मर्यादाको उल्लङ्घन मात्र होइन, लोकतान्त्रिक संस्कृतिमाथिको अतिक्रमण हो।

कमरेड प्रचण्ड, तपाईंले लगभग चार दशकदेखि माओवादी आन्दोलनको नेतृत्व गर्नुभएको छ- त्यो समयावधि यति लामो छ कि नेपालको इतिहासमा कुनै राजाले पनि निरन्तर शासन गर्ने अवसर पाएका थिएनन्। त्यसैले अब आत्मविश्लेषण गर्ने समय तपाईंको लागि आएको छ- “के मैले देशलाई स्थायित्व, विश्वास र समृद्धिको बाटोमा डोर्याउन सकेँ?” भन्ने प्रश्नको ईमानदार जवाफ दिनुहोस्।

आज तपाईंको नेतृत्वमा देशले केवल अस्थिरता, विभाजन र अविश्वासको राजनीति देखेको छ। हिजो परिवर्तनको नाममा उठेका आदर्श आज सत्ताको दलदलमा हराएका छन्। यसरी देशलाई अराजकतातर्फ धकेल्ने प्रमुख भूमिका तपाईंको नै रहेको कुरा अब जनताले प्रष्ट बुझिसकेका छन्। र नेपाली जनताले आफ्नो विवेकले त्यसको हिसाब उपयुक्त समयमा अवश्य लिनेछन्।

एमालेको आन्तरिक लोकतन्त्र, नीति र नेतृत्वबारे चिन्ता लिनु तपाईंको दायित्व होइन। तपाईंले धेरै पटक यस पार्टीलाई कमजोर पार्ने, विभाजन गर्ने र कब्जा गर्ने प्रयास गर्नुभयो-तर प्रत्येक पटक एमाले झन् बलियो र जनप्रिय बनेको छ। त्यसैले फेरि पनि भनौं, एमालेलाई कब्जा गर्ने सपना केवल दिवास्वप्न हुनेछ।

बरु, तपाईं आफैंले विगतका गल्तीहरूबाट सिकेर माओवादी कार्यकर्ताहरूको भविष्य र देशको हितका लागि आत्ममूल्यांकन गर्नुहोस। इतिहासले अवसर सधैं दिँदैन, तर गल्तीबाट सिक्नेहरूलाई सम्मान अवश्य गर्छ।

एमाले सधैं ईमानदार, राष्ट्रवादी र जनमुखी कार्यकर्ताहरूका लागि खुला पार्टी हो-जुनसुकै वेला देश र जनताको हितका लागि योगदान गर्न इच्छुक जो-कोहीको लागि ढोका खुला छ। तर देशलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्नेहरूका लागि जनताको न्याय कडा हुनेछ।

कमरेड, अब समय आएको छ-देशको स्थायित्व, युवाको भविष्य र गणतन्त्रको सुदृढीकरणका लागि पुरानो राजनीतिक अहंकारलाई त्याग्ने। इतिहासले फेरि पनि तपाईंलाई अवसर दिएको छ, तर त्यो अवसरको प्रयोग कसरी गर्नुहुन्छ भन्ने निर्णय अब तपाईंको हातमा छ।
नेपाल अब द्वन्द्व होइन, विकास चाहन्छ।
जनता अब भाषण होइन, परिणाम चाहन्छन्।
र देश अब सत्ता होइन, स्थायित्व खोज्दैछ।
त्यसैले—
एमालेलाई होइन, आफ्नो पार्टी र आफ्नो नेतृत्वलाई सुधार्नुहोस्।
देशको वास्तविक हित त्यहीमा छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार