काठमाडौँ । उत्तरी अफगानिस्तानमा सोमबार बिहान गएको ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । भूकम्पका कारण मान्छेहरू घाइते हुनुका साथै कतिपय स्थानमा पहिरो खसेको र घरहरू ध्वस्त भएका छन र प्रमुख यातायात मार्ग अवरुद्ध भएका छन् ।
समानगन प्रान्तको खुल्म क्षेत्रमा केन्द्रबिन्दु रहेको भूकम्प २८ किलोमिटरको गहिराइमा गएको थियो । कम्पनका कारण बाल्ख, समानगन, सार–ए–पोल, बागलान र कुन्दुजसहित पाँच प्रान्तमा ठूलो क्षति पुगेको अधिकारीहरूले जनाएका छन् ।
काबुल र उत्तरको प्रमुख शहर मजार–ए–शरीफको बिचमा पर्ने समानगनका पहाडी क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । त्यहाँका अधिकांश घरहरू माटो–इँटाले बनेका कम तल्लाका संरचना भएकाले धेरै घरहरू भत्किएका छन् । धेरै नागरिकहरू भग्नावशेषमा पुरिएका छन् ।
भूकम्पमा आफ्नो घरसँगै बुहारी गुमाएका स्थानीय गुलाबुद्दिनले आफूहरूको अवस्था एकदम नाजुक रहेको बताए । “राति करिब १ बजेतिर भूकम्प गएपछि म बाहिर निस्किन भ्याएँ तर मेरी बुहारी ज्यान जोगाउन सकिन् । उनी गर्भवती थिइन, बिहे भएको १० महिना मात्र भएको थियो । सबै नष्ट भयो, अब जान पनि कहीँ छैन, घर बनाउन पनि केही छैन,” उनले भावुक हुँदै भने ।
चाइना मिडिया ग्रुपका पत्रकारहरूले खिचेका दृश्यहरूमा काबुल–मजार राजमार्गमा ठूलाठूला चट्टान र भग्नावशेषले सडक अवरुद्ध भएको देखिन्छ । कतिपय सवारी साधन पुरिएका छन् र धेरै यात्रुहरू बिचमै अलपत्र परेका छन् ।
अफगान स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुसार आकस्मिक उद्धार टोली प्रभावित क्षेत्रहरूमा पुगिसकेका छन् । क्षेत्रभरका अस्पताललाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ ।
भूकम्पका घाइते मध्येका नुर मोहम्मदले उपचार भइरहेका अस्पतालबाट भने, “भूकम्प आउँदा म दोस्रो तलाबाट खसेर भुइँतलामा आएँ ।” अफगानिस्तान युरेसियन र भारतीय प्लेटको ठोक्किने क्षेत्र नजिक रहेको हुँदा विश्वकै उच्च भूकम्पीय जोखिमयुक्त क्षेत्रमध्ये एक हो ।
यसअघि पनि यस वर्ष, अगस्ट ३१ मा अफगानिस्तानको पूर्वी भागमा ६.० म्याग्निच्युडको भूकम्प जाँदा २,२०० भन्दा बढीको मृत्यु भएको थियो । उथलो केन्द्र र पहाडी भू–भागका कारण ठूलो धनजन क्षति भएको थियो ।
सन् २०२३ को अक्टोबरमा उत्तर पश्चिम क्षेत्रमा गएको शक्तिशाली भूकम्पहरूले समेत हजारौँको ज्यान लिएको इतिहास छ । सिसिटिभी
प्रतिक्रिया