जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालय तोडफोडमा संलग्न दुई जना पक्राउ

शुक्रबार, २१ कार्तिक २०८२

झापा : जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालय तोडफोड र प्रहरीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ का २२ वर्षीय पदम राई र उनकी श्रीमती २४ वर्षीया पूजा मगर रहेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनी तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीको टोलीले बिर्तामोड नगरपालिका–५ त्रिवेणी चोकबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा आगजनी र तोडफोड गरिएको थियो । पक्राउ परेका दुवैजनामाथि सोही घटनामा संलग्न भएको आरोप लागेकाे छ र उनीहरूलाई हाल अनारमनी प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

१२ स्थानीय तह र ५५ वडास्तरीय कार्यालयमा आगजनी
जेनजी आन्दोलनका क्रममा झापामा व्यापक क्षति भएको प्रहरीले जनाएको छ । आन्दोलनको क्रममा १२ स्थानीय तहका कार्यपालिकाका भवन, ५५ वडास्तरीय कार्यालय, १० संघीय कार्यालय, ३ प्रदेश कार्यालय, ३७ निजी आवासीय भवन, ८ राजनीतिक दलका कार्यालय र ९ प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको प्रहरीले जनाएको छ ।

९२ थुनुवा भागे, केही पक्राउ
त्यसै घटनाक्रममा इलाका प्रहरी कार्यालय अनारमनी, दमक र झिलझिलेबाट ९२ जना थुनुवा फरार भएका थिए । तीमध्ये हालसम्म तीन जना मात्रै प्रहरीले पुनः नियन्त्रणमा लिएका छन् ।

बिर्तामोडको अनारमनी कार्यालयबाट ५१ जना, दमकबाट ३६ जना र झिलझिलेबाट ५ जना थुनुवा फरार भएका थिए ।

लागूऔषध कारोबारीसमेत फरार
जेनजी आन्दोलनको अवसर पारेर प्रहरी हिरासतबाट भाग्नेहरूमध्ये लागूऔषधका नामुद कारोबारीहरू पनि रहेको खुलेको छ । झापामा डिलरमार्फत ठूलो मात्रामा औषधिजन्य लागूऔषधको कारोबार गर्दै आएका नेकपा (एमाले) निकट भानुभक्त खरेलका साझेदारहरू समेत भागेका थिए । हाल उनी पक्राउ परेका छन् ।

भागेका ९२ थुनुवामध्ये खरेलका साझेदार राजेन्द्र पन्धाक, विष्णु बगाले थापा र गंगाबहादुर खड्का पनि थिए । पन्धाक इलाका प्रहरी कार्यालय बिर्तामोडबाट, जबकि बगाले र खड्का दमक प्रहरी हिरासतबाट भागेका थिए ।

यसैबीच, बिर्तामोड वडा नं. ३ का २६ वर्षीय बिरबहादुर राजवंशीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी जेनजी आन्दोलनको क्रममा इप्रका बिर्तामोडको हिरासतबाट भागेका लागूऔषध मुद्धाका आरोपी थिए । राजवंशीलाई बिर्ताबजार प्रहरी चौकीबाट खटिएको टोलीले घरमै गएर पक्राउ गरेको हो ।

यसअघि, गत असोज २ गते इलाका प्रहरी कार्यालय बिर्तामोडबाट भागेका दुई थुनुवा — इलाम नगरपालिका–९ का २६ वर्षीय गंगाराज चौहान र २१ वर्षीय सुजन अधिकारी — आफैं जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्कमा आएपछि पुनः पक्राउ परेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार