रौतहट । रौतहटको बरहवा नदीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
गौर नगरपालिका वडा नं. ५ मा रहेको बरहवा नदीमा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार शव रौतहटको चन्द्रपुर नगरपालिका ६ का सुनिल कुमार कहार रहेको पुष्टि भएको छ । मृतक युवकको साथमा रहेको सवारी चालक अनुमति पत्रको आधारमा पुष्टि भएको उनको भनाइ छ ।
चन्द्रपुरबाट शनिवार देखी बेपता रहेका कहार कसरी गौरको बरहवा नदीमा पुगे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रादेशिक अस्पताल गौरमा शव राखिएको र परिवारका सदस्य सम्पर्कमा आएको डिएसपी बस्यालले बताए । पोस्टमार्टम रिपोर्टपछि मात्रै घटनाका बारेमा थप खुल्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया