क्यानबेरा । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बानीजले सिड्नीको बोन्डी बीचमा यहूदी पर्व लक्षित गरी भएको घातक गोलीकाण्डपछि घृणात्मक अभिव्यक्तिमाथि कडाइ गर्ने घोषणा गरेका छन् ।
आइतबार हनुक्काको पहिलो दिन मनाउन आयोजित कार्यक्रममा दुई बन्दुकधारीले गोली चलाउँदा १५ जनाको मृत्यु भएको थियो।
प्रधानमन्त्री एल्बानीजका अनुसार नयाँ कानुनले घृणा, विभाजन र उग्रपन्थ फैलाउनेहरूलाई लक्षित गर्नेछ। घृणा फैलाउने व्यक्तिको भिसा रद्द वा अस्वीकार गर्न गृह मामिला मन्त्रीलाई नयाँ अधिकार दिइनेछ। साथै, शिक्षा प्रणालीले यहूदीविरोधी गतिविधि रोक्न र त्यसमा प्रभावकारी प्रतिक्रिया दिन सुनिश्चित गर्न नयाँ कार्यदल गठन गरिनेछ।
नयाँ कानुनमा हिंसा प्रवद्र्धन गर्ने प्रवचनकर्ता र नेतामाथि दण्ड, ‘गम्भीर घृणात्मक अभिव्यक्ति’लाई संघीय अपराधका रूपमा समेट्ने व्यवस्था, तथा अनलाइन धम्की र दुव्र्यवहारसम्बन्धी अपराधमा सजाय निर्धारण गर्दा ‘घृणा’लाई थप गम्भीर कारकका रूपमा राखिनेछ।
प्रधानमन्त्री एल्बानीजले जुलाईमा यहूदीविरोधी मामिलाका दूत जिलियन सेगलले प्रस्तुत गरेको प्रतिवेदनका सिफारिसहरूलाई पूर्ण रूपमा कार्यान्वयन गरिने पनि बताए। सेगलले देश र विश्वभर यहूदीविरोधी घृणाविरुद्ध लड्न यो महत्वपूर्ण समय भएको उल्लेख गरिन्।
गृह मामिला मन्त्री टोनी बर्कले सरकारले अभिव्यक्तिको सीमारेखा कडा बनाउँदै ‘मापदण्डको सीमा परिवर्तन’ गरिरहेको बताए।
प्रधानमन्त्री एल्बानीजले अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि यहूदीविरोधी गतिविधि रोक्न सरकारले पर्याप्त काम नगरेको भन्दै आएको आलोचना स्वीकार गर्दै राष्ट्रलाई एकताबद्ध गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारे।
प्रतिक्रिया