विराटनगर : सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल तरुलखेतीमार्फत सफल किसानका रूपमा स्थापित भएका छन्। व्यावसायिक खेतीको कुनै अनुभव नहुँदा पनि तीन वर्षअघि सुरु गरेको तरुलखेतीबाट हाल २२ जनाले रोजगारी पाएका छन् भने वार्षिक करिब सात लाख रुपैयाँ बचत हुँदै आएको कटेलले जानकारी दिए।
सुन्दरहरैँचा–७ स्थित ‘७५ बिघा’ क्षेत्रमा तीन बिघा जमिन भाडामा लिएर सुरु गरिएको तरुलखेती हाल सात बिघामा विस्तार भएको छ। कटेलका अनुसार सुरुमा खेतीसम्बन्धी ज्ञान नभए पनि निरन्तर प्रयास र प्रयोगका कारण अहिले आत्मनिर्भर बन्न सफल भएका हुन्।
बाँझो जमिनमा सम्भावनाको खेती
पानीको अभाव र जङ्गली जनावरको समस्याका कारण वर्षौँदेखि बाँझै रहेको ‘७५ बिघा’ क्षेत्र धान, मकै र केरा खेतीका लागि अनुपयुक्त बन्दै आएको थियो। स्थानीय किसानका अनुसार हात्तीको उपद्रो र सिँचाइको अभावले अन्य बाली टिक्न सकेका थिएनन्। यस्तो अवस्थामा वैकल्पिक नगदेबालीका रूपमा तरुलखेती सुरु गरिएको हो।
जग्गाधनी प्रकाश उप्रेतीले पानी नपुग्ने जमिनमा तरुलखेती सफल देखिएपछि किसानमा नयाँ आशा पलाएको बताए। उनका अनुसार एउटै बोटबाट तीनदेखि पाँच किलोसम्म तरुल उत्पादन हुने र माघे सङ्क्रान्तिसम्म बजार माग उच्च रहने भएकाले आम्दानी सुनिश्चित हुँदै गएको छ।
जनावरको सास्ती, आम्दानीको सम्भावना
तरुलखेतीसँगै जङ्गली जनावरको समस्या भने यथावत् रहेको किसान बताउँछन्। कटेलका अनुसार बँदेलले बोट उखेलेर नोक्सानी पु¥याउने गरेको छ भने हात्ती तरुलको बाक्लो झाडीभित्र पस्न नसक्ने भएकाले यो खेती तुलनात्मक रूपमा सुरक्षित छ।
कटेलले बिघाको ६० हजार रुपैयाँका दरले सात बिघा जमिनको भाडा तिर्दै आएका छन्। सबै खर्च कटाएर वार्षिक करिब सात लाख रुपैयाँ बचत हुने र सोही खेतीबाट २२ जनाको जीविकोपार्जन चलिरहेको उनले जानकारी दिए।
बजारको झन्झट छैन
कटेलका अनुसार बारीमै प्रतिकिलो ४५ रुपैयाँका दरले तरुल बिक्री हुँदै आएको छ। व्यापारीहरू गाउँमै आएर खरिद गर्ने भएकाले बजारको समस्या नरहेको उनको भनाइ छ। मङ्सिर १५ देखि पुस २७ सम्म तरुल खन्न सकिने र माघे सङ्क्रान्तिलाई लक्षित गरी उत्पादन बजारमा पठाइने तयारी भइरहेको छ। एउटै बोटबाट १० किलोसम्म उत्पादन हुने उनले बताए।
नमूना बन्न सक्ने सम्भावना
सिँचाइ, बजार व्यवस्थापन र जङ्गली जनावर नियन्त्रणमा स्थानीय सरकारबाट सहयोग भए सुन्दरहरैँचा तरुलखेतीका लागि देशकै नमूना क्षेत्र बन्न सक्ने कटेलको बुझाइ छ। उनका अनुसार तरुलखेतीले बाँझो जमिनलाई उत्पादनशील बनाउँदै रोजगारी र आत्मनिर्भरताको नयाँ बाटो खोलिरहेको छ।
प्रतिक्रिया