कोशीको पर्यटन प्रवर्द्धन गर्न काठमाडौँमा गृहकार्य

विहीबार, ०३ पुस २०८२

काठमाडौं । कोशी प्रदेशमा पर्यटकीय गतिविधि बढाउने विषयमा नेपाल पर्यटन बोर्डसंग कोशी पर्यटन वर्ष २०८२को सचिवालयले सम्झौता गरेको छ ।  कोशी प्रदेशको पर्यटकीय प्रवर्द्धनको काममा बोर्डले गर्ने सहयोगका क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता गरिएको हो । 

 काठमाडौँमा दुई दिन विभिन्न कार्यक्रम सञ्चालन गरेको सचिवालयले नेपाल पर्यटन बोर्डसँग सहकार्य बढाउने समझदारी पत्रमा सम्झौता गरेको कोशी पर्यटन वर्ष २०८२ निर्देशक समितिका सहसंयोजक कृष्ण शाहले जानकारी दिएका हुन् । पर्यटन बोर्डको कार्यालयमा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको उपस्थितिमा बोर्डका कार्यकारी निर्देशक दीपक जोशी र मन्त्रालयका सचिव डा इन्द्रप्रसाद सापकोटाले सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा कोशीको पर्यटकीय प्रवर्द्धनको काममा बोर्डले गर्ने सहयोगका क्षेत्रमा सहकार्य हुने उल्लेख गरिएको छ । छिमेकी भारतसहितका मूलकमा हुने पर्यटनका काममा सँगै हातेमालो गर्नेसहितका काम गर्ने गरी सम्झौता गरिएको जनाइएको छ । बोर्डका पदाधिकारीसहितको टोली १५ दिन भित्र कोशी पुगेर थप सहकार्यका विषयलाई मूर्तरूप दिने गरीको समझदारी गरिएको कोशी पर्यटन वर्ष २०८२ निर्देशक समितिका सहसंयोजक शाहले बताए । 

पर्यटनको विषय केन्द्रित व्यवसायीसँगको सहकाय  विषय अन्तरक्रिया समेत सोमबार काठमाडौँमा आयोजना गरिएको थियो । व्यवसायीहरूको  सहभागितामा आयोजित अन्तर्क्रियामा पर्यटन व्यवसायीले कोशी प्रदेशले पर्यटनको प्रवर्द्धन गर्न चालेको कदमको स्वागत गर्दै आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सो क्रममा व्यवयायीहरुले विगतदेखिका सिकाइलाई थप व्यवस्थित गर्दै परिपक्व तवरले प्रवर्द्धनका काम अघि बढाएको भन्दै कोशी प्रदेश सरकारको तारिफ पनि गरे । 

व्यवसायीले उठाएका प्रश्नको जवाफ दिँदै कोशी पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव इन्द्रप्रसाद सापकोटाले कानूनी अल्झनलाई हटाउँदै पर्यटकीय गतिविधि बढाएर काम गर्न कोशी प्रदेश सरकार तत्पर रहेको सो अवसरमा जानकारी गराएका थिए । अब थप र व्यवस्थित रूपमा पर्यटकीय गतिविधिका काम गर्न हातेमालो गर्ने सापकोटाले बताए । मन्त्री मण्डलले अन्तरक्रियामा उठेका सवालपछि राजनीतिक, सामाजिक तथा आर्थिक हिसाबले प्रदेशलाई पर्यटनमैत्री बनाउन सबै दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए । 

नेपाल पर्यटन बोर्डका पदाधिकारी पर्यटकीय गतिविधिमा संलग्न संस्थाहरू हान, टान, नाटा, पाटा, नारा एनएमए, नाथम, होटल व्यवसायी महासङ्घ, पशुपक्षी पर्यटन सङ्घ, पूर्वको मेची क्राउन होटेलका प्रतिनिधि सहभागी अन्तरक्रिया कोशीमा पर्यटकीय गतिविधि बढाउन फलदायी भएको निर्देशक समितिका अर्का सहसंयोजक भवेशकुमार श्रेष्ठले बताए । उनले आफूहरूले काठमाडौँलगायत देशभरबाट कोशी पुग्ने पर्यटक र व्यवसायीको सहजीकरणको सचिवालयले काम गर्ने प्रतिबद्धता जनाए ।

कोशीमा पर्यटकीय गतिविधि बढाउने विषयलाई लिएर काठमाडौं केन्द्रित गतिविधि गर्दै आएको कोशी पर्यटन वर्ष २०८२ सचिवालयले मंगलवार चलचित्रकर्मीसँग कोशी क्षेत्रलाई प्रवर्द्धन गर्न चाल्नुपर्ने विषयलाई केन्द्रमा राखेर अन्तरक्रिया आयोजना गरेको थियो । कार्यक्रममा कलाकार तथा चलचित्र कर्मीले कोशी पर्यटन वर्ष २०८२ सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सहभागी अधिकांश फिल्मकर्मी तथा कलाकारहरूले पर्यटन बर्ष सफल बनाउन सरकारले सुधारका धेरै काम गर्न बाँकी रहेको पनि औँल्याएका थिए । कोशी प्रदेश फिल्म सुटिङका लागि भाग्यमानी प्रदेश रहेको बताउँदै कलाकारहरूले सरकारले धेरै कुरामा सुधार गर्नु पर्ने सुझाव दिएका थिए ।

कलाकारहरुसंगको अन्तरक्रियामा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले कोशी पर्यटनका लागि अथाह सम्भावना भएको प्रदेश भएपनि प्रचार गर्न नसक्दा ओझेलमा परेको बताउँदै पर्यटन बर्ष मार्फत प्रदेशको पर्यटनलाई माथि उठाउने योजना अघि सारिएको जानकारी गराएका थिए  ।

काठमाडौं भ्रमणका क्रममा रहेको प्रदेशका मन्त्री, सचिव तथा सचिवालयका पदाधिकारीसहितको टोलीले संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री अनिलकुमार सिन्हा तथा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई भेटेर प्रदेशले गरिरहेको कामको बारेमा जानकारी गराउँदै थप सहयोगका लागि आग्रह समेत गरेको छ । सङ्घीय सरकारले प्रदेशमा रहेको प्राकृतिक सुन्दरतालाई पर्यटनसँग जोड्न गर्नुपर्ने आर्थिक, कानूनीसहयोगलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता सो क्रममा जनाएको थियो । 

आन्तरिक तथा बाह्य पर्यटकहरूलाई कोशी प्रदेशमा भित्र्याउन आवश्यक सुरक्षा , सेवा सुविधा, आथित्यता सहितका विषयलाई व्यवस्थित बनाउने काम सचिवालयले गरे सो अवसरमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार