पत्रकार महासंघ झापाको ३७औं स्थापना दिवसमा रक्तदान र झण्डोत्तोलन

बुधबार, ०९ पुस २०८२
रक्तदान कार्यक्रम

झापा : नेपाल पत्रकार महासंघ झापा शाखाले आफनो ३७ औं स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । स्थापना दिवसका अवसरमा बुधबार रक्तदान र कार्यालयमा झण्डोत्तोलन कार्यक्रम आयोजना गरिएको हो । 

पछिल्लो समयमा झापामा मानव उपचारका लागि आवश्यक पर्ने रगतको अभाव भईरहेको तर्फ मध्यनजर गर्दै  महासंघ झापाले आफनो स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको महासंघ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।  महासंघका अध्यक्षता गिरीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यमा बिर्तामोडमा रहेको अतिथि सदनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका थिए ।

प्रमुख अतिथि ढकालले दान मध्येको महादान रक्तदानको आयोजना गरेर पत्रकार महासंघ झापाले मानवताको सेवामा महत्वपूर्ण कार्य गरेको भन्दै प्रशंसा गरे । उनले रगतको अभाव पूरा गर्न स्वस्थ नागरिकले नियमित रक्तदान गर्नुपर्नेमा समेत जोड दिए । ब्लड डोनर्स सोसाइटी झापाको सहकार्य र नेपाल रेडक्रस सोसाइटी झापा शाखा तथा बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जेन–जी युनाइटेड मुभमेन्ट नेपाल झापा, पत्रकार, विद्यार्थी लगायत समाजका विभिन्न क्षेत्रका रक्तदाताहरुले रक्तदान गरेका थिए । पत्रकार तथा हल्दिबारी प्रेस क्लवका अध्यक्ष नेत्रविक्रम विमलीले आज सहित  १२०औं पटक रक्तदान गरेको सो अवसरमा जानकारी गराइएको थियो ।

कार्यक्रममा महासंघ झापाका संस्थापक सचिव तथा पूर्व अध्यक्ष तारा बराल, पूर्व अध्यक्षहरु कृष्ण हुमागाँई, गणेश पोखरेल, चेम्बर अर्फ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष पुष्पाञ्जली सिन्हा, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोल लगायतले शुभकामना मन्तव्य राखेका थिए । 
यसैबीच बुधबार नै स्थापना दिवसको अवसरमा महासंघको बिर्तामोडस्थित कार्यालय भवनमा झण्डोत्तोलन गरिएको छ । महासंघका संस्थापक सचिव तथा पूर्व अध्यक्ष तारा बराल, पूर्व अध्यक्ष कृष्ण हुमागाँई, वर्तमान अध्यक्ष एकराज गिरी, पदाधिकारी तथा सदस्यहको उपस्थितिमा राष्ट्रिय झण्डा र महासंघको झण्डा झण्डोत्तोलन समेत गरियो । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार